चुनावी प्रक्रिया अगाडी बढाउन नेकपा ओली समूहको आग्रह

चुनावी प्रक्रिया अगाडी बढाउन नेकपा ओली समूहको आग्रह

निर्वाचन आयोगले सर्वोच्च अदालतले अन्यथा आदेश नगरे तोकिएको समयमा चुनाव गर्न प्रतिबद्ध रहेको बताएको छलफलमा सहभागी नेकपाका नेता सुभाष नेम्वाङले जानकारी दिए।

आयोगले राजनैतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन र निर्वाचन तयारीका सम्बन्धमा हालसम्म गरेका कामका विषयमा छलफल गर्न दुवै नेकपालाई बोलाएको थियो। 

तर, नेकपा दाहाल नेपाल समूहका नेता भने छलफलमा नबसी पत्र बुझाएर फर्केका छन्।  दुवै अध्यक्ष काठमाडौँ बाहिर रहेकाले आज छलफल हुन सम्भव हुँदैन भनेर फर्किएको लीलामणि पोखरेलले जानकारी दिए। 

नेकपा दाहाल नेपाल समूहका नेता फर्के पनि आयोगले ओली नेकपाका नेताहरूसँग छलफल गरेको हो। ओली नेकपासँग छलफलमा आयोगले कुनै पनि कारणबाट चुनाव नरोकिने गरी प्रक्रिया अगाडी बढाएको बताएको नेम्वाङले जानकारी दिए। 

नेकपाको आधिकारिताबारे चुनाव भएपछि टुङ्गिने बताए। ‘उहाँहरूले आफूलाई आधिकारिक भनिरहनु भएको छ, हामीले हामीलाई आधिकारिक भनिरहेका छौ,’ नेम्वाङले भने, ‘आधिकारिक को हो भन्ने विषय चुनावबाट टुङ्गिन्छ।’ 

माघ १६, २०७७ शुक्रबार १४:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।