आन्दोलनमा नेकपा दाहाल-नेपाल : विद्यार्थी सङ्गठनले बालुवाटार घेर्ने 

आन्दोलनमा नेकपा  दाहाल-नेपाल : विद्यार्थी सङ्गठनले बालुवाटार घेर्ने 

विराटनगरको जनआन्दोलन चोकमा दिउँसो गर्ने विरोध सभाका लागि माधव कुमार नेपाल र झलनाथ खनाल विराटनगरमै छन्। पुष्प कमल दाहालले पनि विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम राखिएको आयोजकले बताएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक निर्णय गरेर देशलाई प्रतिगमनमा लान खोजेको भन्दै नेकपा दाहाल-नेपाल समूहले काठमाडौँको माइतीघरमा धर्ना जारी राखेको छ। तेस्रो चरणको आन्दोलन अन्तर्गत उसले भोलि धनगढीमा विरोध सभा गर्दैछ। 

विद्यार्थी सङ्गठनको आन्दोलन घोषणा

दाहाल-नेपाल निकट विद्यार्थी सङ्गठनले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ। काठमाडौँमा आज पत्रकार सम्मेलन गरेर उसले आन्दोलन घोषणा गरेको हो। 

आन्दोलनका कार्यक्रम अन्तर्गत आज दिउँसो १ बजे भोटाहिटीदेखि शहीद गेटसम्म ओलीको प्रतिगमनविरुद्ध भन्दै प्रदर्शन गर्न लागेको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले जनाएको छ। 

आज भोटाहिटी देखि शहीद गेटसम्म प्रतिगमनका विरुद्ध प्रदर्शन गरेर शहीद दिवस मनाउने केन्द्रीय सदस्य सञ्जीव फुयाँलले जानकारी दिए। 

अनेरास्ववियुले तेस्रो चरणको आन्दोलन अन्तर्गत स्थानीय तहका सरकारलाई ज्ञापन पत्र बुझाउनेदेखि बालुवाटार घेर्नेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेको फुयाँलले जानकारी दिए। 

अनेरास्ववियुले माघ १८ र १९ गते स्थानीय तहका सरकारलाई ज्ञापन पत्र बुझाउनेछ। मन्त्रीहरूलाई सार्वजनिक बहिष्कार गर्ने, मन्त्रीहरूका गाडी चल्न नदिने कार्यक्रम रहेको फुयाँलले बताए।

माघ २१ गते क्याम्पस अगाडी कालो झन्डा सहित चक्काजाम गर्ने र २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको सहसंयोजक रञ्जित तामाङले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ। 

माघ १६, २०७७ शुक्रबार ११:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।