माधव नेपालको आस : प्रधानमन्त्री ओलीले माफी मागेर पत्र पो पठाए की !

माधव नेपालको आस : प्रधानमन्त्री ओलीले माफी मागेर पत्र पो पठाए की !

उनले केपीलाई दण्ड दिँदै पार्टीको अध्यक्षबाट निष्कासन गरेको बताउँदै साधारण सदस्यबाट समेत किन नहटाउने भनेर पत्र पठाएको बताए। 

‘कारबाहीका लागि स्पष्टीकरण सोधेका छौँ। सुर्खेतबाट भर्खर आउँदै छु। कतै जवाफ आइहाल्यो कि प्रचण्डसँग कुरा गर्न पाएको छैन,’ उनले शुक्रवार राजधानीमा आयोजित विरोध कार्यक्रममा भने‘ गल्ती गरे भनेर स्विकारेका छन् कि । माफी मागेका छन्। कतै जुलुसमा सहभागी हुन्छु भनेर भनिहालेका छन् कि।’

उनले नेपाली जनताले को मान्छेले के गर्यो भनेर मूल्याङ्कन गर्ने सो अनुसार राम्रो गरे राम्रो र नराम्रो गरे दण्ड दिने बताउँदै भने‘ उपस्थिति हेर्दा मलाई जनआन्दोलनको झल्को आएको छ। यो त कास्टिक मात्रै हो, फिल्म सुरु हुन बाँकी छ।’

उनले ओली सुध्रिएर आए माफी दिने दाबी गर्दै भने‘ मान्छेले गल्ती गर्छन्। अपराध गर्छन्। समयमा सच्चिन्छु भन्छन् भने केही समय जेलमा राखेर फेरि निकालौला । हैन भने सुरुमै माफी दिउँला ।’ 

उनले अब ओलीसँग भने नझुक्ने बताए। ओलीले पार्टीलाई झन्डै सिद्ध्याउने काम गरेको र प्रधानमन्त्रीको रूपमा देशलाई भ्रष्टाचारमा फसाएको दाबी गरे।

प्रधानमन्त्रीका रूपमा ओली तानासाह भएर निस्किएको बताउँदै उनलाई अब जनताले तह लगाउने दाबी गरेका थिए।

आत्म समीक्षा गरौँ

ओलीलाई ठिक ठाउँमा ल्याउन नसकेकोमा आत्म समीक्षा गर्नुपर्ने बताए। तत्कालीन नेकपाको महाधिवेशनमा ओलीले अनेक तिकडम गरेर जीतेको मान्छेलाई पनि हराएको दाबी गरे। पार्टीको निम्ति सबै कुरा मनमा राखेर सहेर बसेको भन्दै उनले पार्टी एक भएपछि नयाँ बाटोमा जाने पलाएको तर त्यसो हुन नसकेको उनले बताए।

पार्टी एकता भएपछि ओलीका सबै व्यवहार आपत्तिजनक भए पनि सुध्रिन्छन् कि भनेर पर्खे पनि उनी नसुध्रिएको बताउँदै कुन ठाउँमा त्रुटि भयो त्यसको समीक्षा गर्नुपर्ने बताए।

गणतन्त्र आएपछि गणतन्त्र नमान्ने ओलीलाई प्रधानमन्त्री बनाएकोमा आफूलाई केहीले गाली गर्ने गरेको बताउँदै ती सबै उनी सुध्रन्छन् कि भनेर गरेको दाबी गरे।

माघ ९, २०७७ शुक्रबार १९:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।