ओलीले गल्ती स्वीकार गरे केही समय जेलमा राखेर माफी दिन सकिन्छ : अध्यक्ष नेपाल
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले माफी मागेर गल्ती स्वीकार गरे केही समय जेलमा राखेर माफी दिने सकिने बताएका छन्।
प्रतिनिधि सभा विघटनविरुद्ध दाहाल नेपाल समूहले आज काठमाडौँमा गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, 'मान्छेले गल्ती गर्छन्, अपराध गर्छन् । अनि समयमा सचिन्छु भन्छन् भने केही समय जेलमा राखेर फेरि निकालौँला।'
नेपालले पार्टीले बनाएको केपी ओली भष्मासुर बनेको आरोप लगाए।
वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री ओलीलाई भगौडा भएको आरोप लगाए। उनले ओलीले प्रतिनिधिसभा विघटनलाई राजनीतिक कदम भनेको भन्दै खनालले आपत्ति जनाए । वरिष्ठ नेता खनालले ओलीको कदम प्रतिगमन भएको बताए।
खनालले प्रधानमन्त्री ओलीले संविधान अनुसार नै काम गर्नुपर्ने बताए । सार्वभौम जनताले बनाएको संविधान भएकोले कसैले पनि खेलबाड गर्न नसक्ने उनको भनाइ छ।
उनले देशलाई दुर्घटनामा फसाएर ओलीले आफ्नो समूहलाई आधिकारिक नेकपा भनेको भन्दै आपत्ति जनाए। सर्वोच्च अदालतमाथि पुरा विश्वास रहेको बताउँदै खनालले निर्वाचन आयोगले पनि कानुन अनुसार कुन पार्टी आधिकारिक भन्ने छुट्टाउने बताए ।
माघ ९, २०७७ शुक्रबार १६:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।