बाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव सदनमा पेस
काठमाडौं : बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव सदनमा पेस भएको छ।
प्रदेशशभाको आज (शुक्रबार) दिउँसो १ बजेको बैठकमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव सदनमा पेस भएको हो।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनुमति दिएपछि सांसद् अरुण नेपालले मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव सदनमा पेस गरेका थिए।
मुख्यमन्त्री पौडेलले तीन वर्षमा प्रदेशलाई स्थापित गर्नबाट चुकेको, कोरोना महामारीमा प्रदेश सरकारको भूमिका कमजोर रहेको र प्रदेशप्रति जनताको विश्वास कमजोर बन्दै गएको कारण अविश्वासको प्रस्ताव दर्ता गरिएको सांसद् नेपालले बताए।
गत पुस १० गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका ४५ जना सांसदहरुले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।
उक्त प्रस्ताव पेस भएसँगै प्रदेशसभाको बैठक स्थगित गरिएको थियो। प्रदेशसभाको अर्को बैठक माघ १९ गते दिउँसो २ बजे बस्ने भएको छ।
माघ ९, २०७७ शुक्रबार १५:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।