आन्दोलन ननभेज भए सजग भएर सामना गर्न प्रधानमन्त्रीको निर्देशन

आन्दोलन ननभेज भए सजग भएर सामना गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सजग भएर आन्दोलनको सामना गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन्। 

सशस्त्र प्रहरी बलको २० औ स्थापना दिवसका अवसरमा हलचोकमा भएको कार्यक्रममा ओलीले नेकपा दाहाल नेपाल समूहको आन्दोलन ननभेज भए सजग भएर सामना गर्न निर्देशन दिएका हुन्। 

प्रधानमन्त्री ओलीले कानुन उल्लङ्घन गर्ने इजाजत कसैलाई नभएको बताए। लोकतन्त्रलाई सहज ढङ्गले अगाडी जान नदिने र लोकतान्त्रिक प्रणाली उपयुक्त होइन भन्ने सिद्ध गर्न अनेक चेष्टा भएको ओलीको भनाई छ। त्यस्ता झलक, अभिव्यक्ति आउन थालेको भन्दै ओलीले कतिपय आन्दोलन गर्ने भनेर लागेको समेत उल्लेख गरे। 

'आन्दोलन पनि ननभेज गर्ने भनेका छन् उनले प्रश्न गरे, के हो ननभेज आन्दोलन भनेको ?' ओलीले फुत्किएर आएको अभिव्यक्ति हो भने आज उहाँहरूले सच्याउने बताए। 'फुत्किएर आएको भए रफु भर्न सकिन्छ, मनसाय नै ननभेज (शाकाहारी) हो भने सजग भएर त्यसको सामना गर्नुपर्छ' प्रधानमन्त्री ओलीले भने।  उनले सशस्त्र प्रहरीको भूमिका असाधारण र प्रशंसनीय भएको बताए। 

उनले वैशाखमा घोषणा गरिएको चुनावको पहिलो चरणमा २ नम्बर, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम तथा दोस्रो चरणमा १ नम्बर, बाग्मती र कर्णाली प्रदेशमा चुनाव गर्न सकिने अनौपचारिक खाका समेत सुनाए।  

उनले नेपालबाट कोरोना पराजित हुँदै गएको दाबी समेत गरे। नेपालीलाई त्यसका मुखमा के हाल्दियो भने मर्छ भन्ने थाहा भइसक्यो ओलीले भने, कोरोनालाई पराजित गर्ने मुढमा हामी पुगिसक्यौ। 

प्रधानमन्त्री ओलीले कोरोनाबाट नेपाल सुरक्षित छ भनेर आत्तिएका मान्छेहरू सीमा पार गरेर आउने गरेको बताए। उनले सीमामा बसेका सशस्त्र प्रहरीले निरोगिताको प्रमाण हेरेर मात्रै प्रवेश दिनु पर्ने बताए। सीमाबाट हुने अनुचित आवागमन न्यून गर्न सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रधानमन्त्री ओलीले प्रशंसा गरे। 

 

माघ ९, २०७७ शुक्रबार १४:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।