सर्वोच्च अदालतले न्याय दिने आशा छ : नेकपा अध्यक्ष नेपाल

सर्वोच्च अदालतले न्याय दिने आशा छ : नेकपा अध्यक्ष नेपाल

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दाहाल-नेपाल समूहका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर संवैधानिक कु गरेको आरोप लगाएका छन्।

आज (शुक्रवार) वीरेन्द्रनगरमा प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले आफ्नो कुर्सीको आयु लम्ब्याउनका लागि संसद् भङ्ग गरेको भन्दै चुनाव हुन्छ भनेर भ्रमसमेत फैलाइरहेको आरोप लगाए। बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नै संविधानमा छैन भन्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले संविधान मिचेर भङ्ग गरेको तर अदालतले न्याय दिने आशा व्यक्त गरे। 

प्रधानमन्त्री ओलीलाई बारम्बार सुध्रने मौका दिइएको र प्रयास पनि गरेको तर नमानेका कारण पार्टीलाई भड्खालोमा हाल्न लागेको देखेर आफूहरू अलग भई सङ्कट समाधान गर्न लागेको जिकिर अध्यक्ष नेपालको छ।  

संसद् पुनर्स्थापना भएमा ओलीलाई बाइबाई गर्ने उनले बताए। पार्टीले तीन दिन अघि ओलीलाई कारबाही गरेको पत्र बालुवाटार पठाउँदा पनि नबुझेको जानकारी दिदैं नेता नेपालले अव पार्टीको साधारण सदस्यबाट समेत निकालिने बताए। 

पुष्पकमल दाहालको पिठ्युँ चढेर ओली प्रधानमन्त्री भएको र अहिले प्रचण्डलाई लात्ती हानेर फालेको नेता नेपालले बताए। देश बनाउने, विकास गर्ने भनेर ओलीले जति पनि भनेका छन्, ती सबै झुट भएको भन्दै नेता नेपालले ओलीको झुटको पुलिन्दाको विश्वास नगर्न कार्यकर्ताहरूलाई आग्रह गरे।

पार्टीभित्र आफूहरूलाई काम गर्न दिइएन भनेर ओलीले गरेको प्रचार गलत भएको भन्दै नेता नेपालले झुट नबोल्न, नक्कली कुरा नगर्न, विधि विधान मान्न आग्रह गरे। आफ्नो समूहसहित प्रतिपक्ष काँग्रेस, जनता समाजवादी पार्टी सबै आन्दोलनमा भएको हुँदा ओली अहिले एक्लै भएको टिप्पणी उनको छ। 

कार्यक्रममा नेकपा कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको विरोध गरे। उनले देश र जनताको अभिमतलाई समेत लत्त्याएर संविधान कुल्चेको भन्दै त्यसका विरुद्ध आन्दोलनको विकल्प नरहेको बताए।

पार्टी एकता बिथोल्ने काममा प्रधानमन्त्री ओली लागेको भन्दै उनले ओलीकै कारण अहिले देश र पार्टीमा सङ्कट आएको जिकिर गरे। 

माघ ९, २०७७ शुक्रबार १२:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।