काठमाडौँ महानगरका २५ सामुदायिक विद्यालयमा आविष्कार क्लब
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले काठमाडौँ महानगरपालिका भित्रका २५ वटा सामुदायिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवर्द्धनका लागि आविष्कार (स्टिम क्लब) कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
काठमाडौँ महानगरपालिकाले महानगरपालिका क्षेत्र भित्रका छनोटमा परेका २५ वटा विद्यालयमा पहिलो चरणका लागि उक्त कार्यक्रम सञ्चालनका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
विद्यार्थीमा विज्ञान तथा प्रविधिको सिकाइको विकास गर्ने, व्यक्तिगत अभिरुचिको विकास र प्रयोग गर्न मञ्च उपलब्ध गराउने, आविष्कारमूलक सिकाइको प्रवर्द्धन गर्नेलगायतका उद्देश्यले सुरुवात गरेको सो कार्यक्रम सञ्चालनका लागि काठमाडौँ महानगरपालिकाले छनोटमा परेका ती सबै विद्यालयलाई रु एक–एक लाख अनुदान दिएको छ।
अनुदानका लागि सम्झौता पत्रमा हस्ताक्षर तथा चेक हस्तान्तरण कार्यक्रमपछि सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले नयाँ सोचका साथ ल्याएको उक्त कार्यक्रमलाई व्यवहारिक रूपमा लागु गर्न विद्यालयका प्रधानाध्यापकहरूलाई आग्रह गरे। ‘काठमाडौँ महानगरपालिकाले नयाँ सोचका साथ यो कार्यक्रम ल्याएको छ। यसलाई व्यवहारिक रूपमा लागु गर्न तपाईँहरू लाग्नुहोला,’ शाक्यले भने, ‘सामुदायिक विद्यालयका शिक्षकले निजी विद्यालयमा विद्यार्थीको चाप बढी भयो भनेर चिन्ता लिने होइन । गुणस्तरीय शिक्षाका लागि योगदान दिएर सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउनतर्फ केन्द्रित हुनुपर्छ।’
उनले सामुदायिक विद्यालयमा राज्यको ठुलो लगानी रहेको भन्दै राज्यको नीति अनुसार सर्वसुलभ र गुणस्तरीय शिक्षा दिई निजीको भन्दा राम्रा विद्यार्थी उत्पादन गर्नुपर्नेमा जोड दिए। ‘गुणस्तरीय शिक्षा दिन नसक्ने अनि निजी विद्यालयलाई गाली गर्ने कुरा उचित होइन,’ उनले भने, ‘निजीले लगानी गरेको हुन्छ । त्यहाँ व्यापारिक प्रतिफलको पनि अपेक्षा हुन्छ । तर, सामुदायिकले प्रतिफलको अपेक्षा गर्ने भनेको आफ्नो विद्यालयमा पढेका विद्यार्थीको भविष्य सुनिश्चित होस् भन्ने हो। तपाईँहरूले गौरवका साथ भन्न सक्नुहोस् कि निजी विद्यालयमा अध्ययन गरेका भन्दा मेरो विद्यालयमा अध्ययन गरेका विद्यार्थी अब्बल छन्।’
शाक्यले विद्यालय शिक्षा अहिले स्थानीय सरकारको मातहतमा रहेको भन्दै महानगरपालिका आवश्यक लगानी गर्न तयार रहेको पनि बताए। ‘हामी पूर्वाधारलगायतका लागि लगानी गर्न तयार छौँ,’ शाक्यले भने, ‘तर, गुणस्तरीय शिक्षा दिने जिम्मेवारी तपाईँहरूको हो । सामुदायिकमा पढेको विद्यार्थीले आफूले चाहेका क्षेत्रमा प्रवेश गर्न चाहना राख्दा निजीको भन्दा अब्बल बन्न सकोस्। त्यसमा तपाईँहरूको कमजोरी नहोस्।’
काठमाडौँ महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले पनि महानगरपालिकाले नयाँ कार्यक्रम ल्याएको भन्दै त्यसलाई सफल बनाउन सबै प्रधानाध्यापकलाई आग्रह गरे। ‘हामीले पहिलो चरणमा २५ वटा विद्यालय छनोट गरेका छौँ । ती मध्ये पनि शिवपुरी माध्यमिक विद्यालयलाई हब विद्यालयका रूपमा छनोट गरेका छौँ’ बस्नेतले भने, ‘यो क्रार्यक्रमको छनोटमा परेका विद्यालयहरूमा कक्षा–९ सम्मका १५ देखि २० जना सम्म विद्यार्थीको सहभागितामा आविष्कार क्लब गठन गरिने छ। यो कार्यक्रम सम्बन्धित विद्यालयसँग सम्झौता भएको मितिदेखि सञ्चालन भई २०७८ असार मसान्तभित्र सम्पन्न गरिसक्नु पर्ने छ।’
बस्नेतले उक्त क्लबका विद्यार्थीसँग सम्बन्धित विषयका शिक्षकहरूमार्फत गरिने विभिन्न कार्यशालामा भाग लिने, विद्यालयका विज्ञान शिक्षकहरूको भेला आयोजना गरी त्यसको अनुगमन गर्ने बताए । ‘कार्यक्रमको अन्त्यमा प्रत्येक विद्यालयका आविष्कार क्लबहरूको सहभागितामा हब विद्यालयमा आविष्कार मेलाको आयोजना गरिने छ,’ बस्नेतले भने, ‘यो मेलामा दिएको समस्याको उत्तम हल निकाल्ने विद्यालय तथा विद्यार्थीलाई पुरस्कृत गरिने छ।’
सहरी योजना आयोगका सचिवालय प्रमुख डिल्लीराम बास्तोलाले २५ वटै विद्यालयलाई सुरुमा ८५ हजार अनुदान दिएको भन्दै प्रतिवेदन प्राप्त भएपछि थप २५ हजार दिने बताए।
पहिलो चरणको छनोटमा शिवपुरी माध्यमिक विद्यालय, बाँसवासी माध्यमिक विद्यालय, धूम्र बराह माध्यमिक विद्यालय, टंगाल माध्यमिक विद्यालय, जनकल्याण माध्यमिक विद्यालय, मित्र आधारभूत विद्यालय, श्रम राष्ट्रिय माध्यमिक विद्यालय, गुह्येश्वरी माध्यमिक विद्यालय, रत्न राज्य माध्यमिक विद्यालय, विश्व निकेतन माध्यमिक विद्यालय, महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय, सरस्वती निकेतन माध्यमिक विद्यालय, जनप्रभात माध्यमिक विद्यालय, नील वाराही माध्यमिक विद्यालय, जनपथ माध्यमिक विद्यालय, गितामाता माध्यमिक विद्यालय, सिद्धि गणेश माध्यमिक विद्यालय, शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालय, भक्त विद्याश्रम माध्यमिक विद्यालय, परोपकार आदर्श माध्यमिक विद्यालय, नवयुग माध्यमिक विद्यालय, प्रभाव माध्यमिक विद्यालय, पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालय, भिमसेनगोला माध्यमिक विद्यालय, कोटेश्वर सरस्वती माध्यमिक विद्यालय रहेका छन् ।
माघ ९, २०७७ शुक्रबार ११:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।