बाग्मती प्रदेशसभामा आज मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुने
काठमाडौँ : आज (शुक्रवार) बस्ने बाग्मती प्रदेशको प्रदेशसभा बैठकमा मुख्यमन्त्री डोरमणी पौडेलविरुद्धको अविश्वास प्रस्ताव टेबल हुने भएको छ।
सभामुख सानुकुमार श्रेष्ठले दिउँसो १ बजेका लागि बोलाएको बैठकमा मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुने कार्यसूची रहेको प्रदेश संसद् सचिवालयले जनाएको छ ।
राजनीतिक दलहरूको दबाबपछि सभामुख श्रेष्ठले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन्। अविश्वासको प्रस्ताव ‘फेस’ गर्न प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल तयार भए पनि कानुनविद् र दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भन्दै सभामुख श्रेष्ठले बैठक बोलाउन आनाकानी गरिरहेका थिए ।
मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाकै दाहाल–नेपाल समूहका ४५ जना प्रदेशसभा सदस्यले हस्ताक्षरसहित पुस १० गते प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।
अधिवेशनको पहिलो दिन दलका नेताहरूले बोल्ने क्रम सकिएसँगै सभामुख श्रेष्ठले बैठक अनिश्चितकालका लागि स्थगन गरेका थिए ।
प्रदेशसभामा नेकपाका ८० सांसद छन् भने काँग्रेसका २२, विवेकशील साझाका ३ जना, राप्रपाका २ जना, नेपाल मजदुर किसान पार्टीका २ जना र स्वतन्त्र सांसद एक जना छन् ।
माघ ९, २०७७ शुक्रबार ०९:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।