नयाँ बसपार्कबाट १३ जना तेस्रोलिंगी पक्राउ, प्रहरीले निर्घात कुटेको आरोप

नयाँ बसपार्कबाट १३ जना तेस्रोलिंगी पक्राउ, प्रहरीले निर्घात कुटेको आरोप

काठामाडौं : नयाँ बसपार्कको प्रहरी कार्यालयमा तोडफोड गरेको आरोपमा १३ जना तेस्रोलिंगी पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरी टोलीले प्रहरी कार्यालयमा हुलहुज्जत गरेर गमला तोडफोड गर्ने १३ जनालाई पक्राउ गरेको बताएको छ। 

काठमाडौँको नयाँ बसपार्क सडक छेउमा बसेका तेस्रोलिंगीलाई पक्रेर नयाँ बसपार्कको प्रहरी कार्यालयमा लगिएको र त्यहाँ उनीहरूले हुलहुज्जत गरेर कार्यालयमा राखिएको गमला तोडफोड गरेको महाराजगन्जका प्रहरी उपरीक्षक डिएसपी रोशन खड्काले बताए। 

प्रहरीले पक्रेर लगेपछि उनीहरूले कपडा खोलेर हुलहुज्जत गरेको खड्काले बताए। बसपार्क छेउको पुलमा बसेर बाटो हिँड्ने बटुवालाई हैरानी दिएको गुनासो आएपछि १३ जना तेस्रोलिंगीलाई पक्राउ गरेको खड्काले जानकारी दिए। 

प्रहरीले भ्यानमा हालेर महाराजगन्ज लैजाँदा तेस्रोलिंगीलाई निर्घात कुटपिट गरेको तेस्रोलिंगी अधिकारकर्मी सुदीप गौतमले बताए। प्रहरीले आम नागरिक जस्तै तेस्रोलिंगीलाई स्वतन्त्र पूर्वक बाटोमा हिँड्न र बस्न बन्देज लगाइरहेको गौतमको आरोप छ। 

तर, डिएसपी खड्का भने बटुवाहरूलाई हैरानी दिएकाले पक्राउ गरिएको दाबी गर्छन्। तर, तेस्रोलिंगी अधिकारकर्मी गौतमले पठाएको तस्बिरमा प्रहरीको कुटपिटबाट चोट लागेको देखिन्छ। झन्डै एक महिना अगाडि पनि महाराजगन्ज प्रहरीले नयाँ बसपार्कबाट ११ जना तेस्रोलिंगीलाई पक्राउ गरेको थियो। 

 

माघ ८, २०७७ बिहीबार २१:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।