रानीपोखरीमा माछा हाल्ने महानगरको तयारी

रानीपोखरीमा माछा हाल्ने महानगरको तयारी


‘हामीले पोखरी सफा गरेर पहिलो चरणमा केही माछा हाल्ने तयारी गरेका छौं,’ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भने। 

रानीपोखरीमा माछा हाल्ने विषयमा विज्ञहरूसँग छलफल गरिरहेको उनले बताए। 

महानगरपालिकाले नगर प्रहरीलाई खटाएर रानीपोखरी सरसफाइ गरिरहेको छ। 

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली रानीपोखरीमा हरियो लेउ जमेर कुरूप बनेको गुनासो आएपछि सरसफाइ थालिएको बताउँछन्। 

‘राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट रानीपोखरी हस्तान्तरण भइसकेको छैन। तैपनि हाम्रै क्षेत्राधिकारभित्र पर्ने भएकाले शुद्धीकरणको प्रयास गरेका हौं,’ ज्ञवाली भन्छन्। 

उनले रानीपोखरी शुद्धीकरणको दीर्घकालीन समाधानका लागि सरोकारवाला निकायहरूसँग छलफल भइरहेको बताए। 

प्राधिकरणका इन्जिनियर राजुमान मानन्धर पनि पानी शुद्धीकरणका विकल्पमाथि छलफल भइरहेको बताउँछन्।

दीर्घकालीन व्यवस्था नहुन्जेलसम्म पोखरीको सरसफाइ नियमितरूपमा गर्ने महानगरले जनाएको छ। 

काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार रानीपोखरी सरसफाइमा दैनिक २० भन्दा बढी नगर प्रहरी खटाएइएको छ। उनले दुई दिनमा आठ टिपर लेउ हटाएको बताए। 
 

माघ ५, २०७७ सोमबार २१:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।