ओलीलाई दाहाल नेपाल समूहले सदस्यबाटै हटाए

ओलीलाई दाहाल नेपाल समूहले सदस्यबाटै हटाए

नेकपाको दोस्रो केन्द्रीय कार्यालय  पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले नेकपा ओली समूहका अध्यक्ष रहेका ओलीलाई नेकपा दाहाल नेपाल समूहले साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको हो । 

बैठकले महासचिव पदबाट विष्णुप्रसाद पौडेललाई हटाउने निर्णय गरेको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए। ओलीलाई पार्टी विधान अनुसार स्पष्टीकरण सोध्ने गरी साधारण सदस्यबाट हटाउने निर्णय भएको शाहले बताए। 

बैठकले नेकपा दाहाल नेपाल समूहको एकता प्रक्रिया सात दिनभित्र टुङ्गो लगाउने गरी तीन दिनभित्र प्रदेश इन्चार्जहरूलाई सिफारिस गर्न समय दिएको छ। यस्तै बैठकले संसद् विघटन विरुद्ध माघ १६ गते प्रदर्शन गर्ने र १६ गतेको प्रदर्शनको समीक्षा गरेर फेरी २३ गते आन्दोलन गर्ने निर्णय गरेको शाहले बताए। 

बैठकले सरकारका पछिल्ला निर्णयको भर्त्सना समेत गरेको छ। प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयपछि नेकपा दुई चिरा भएको छ। 

अहिले एकले अर्कोलाई कारबाही गर्ने र आफू समर्थकलाई जिम्मेवारी दिने प्रतिस्पर्धामा नेकपाका दुवै समूह लागेका छन्।

माघ २, २०७७ शुक्रबार १९:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।