परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणमा लिपुलेकबारे छलफल होला ?

परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणमा लिपुलेकबारे छलफल होला ?

काठमाडौँ : नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन दिल्ली पुगे परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली। 

तीन दिनसम्म दिल्लीमा रहँदा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, सीमा, पारवहन, कोरोना भाइरस नियन्त्रण सहकार्य, पूर्वाधार, लगानी, कृषि, लगायतका पक्षमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

भारतले लिपुलेक र कालापानी आफ्नो नक्सामा राखेको प्रतिवाद गर्दै नेपालले लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेपछि नेपाल-भारतबिच उच्चस्तरीय छलफल हुन सकेको थिएन। सीमा विवाद उत्कर्षमा पुगेसपछिको यो पहिलो छलफल हो।

परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा सीमा समेत छलफलको विषय रहने उल्लेख गरे पनि भारतीय पक्षले भने सीमा विवादलाई छलफलको विषय बनाउने सङ्केत देखिएको छैन।

'सीमा विवादबारे हाम्रो पोजिसन सार्वजनिक नै छ,' भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नियमित प्रेस मिटमा बुधवार भने' संयुक्त आयोग र सीमा वार्ता फरक विषय हुन्।'

यसले मन्त्री ज्ञवालीको भारत भ्रमणमा लिपुलेक र लिम्पियाधुरामा भारतले गरेको अतिक्रमण छलफलको विषय बन्न कठिन रहेको देखिन्छ।

नेपालले सीमा विवादको समाधान कूटनीतिक वार्ताबाट समाधान गर्न पटक पटक वार्ताको पहल गर्दै कूटनीतिक नोट पठाए पनि भारतले बेवास्ता गर्दै आएको छ।

माघ १, २०७७ बिहीबार २२:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।