माधव नेपालको पश्चात्ताप ‘गणतन्त्र विरोधीलाई सत्ता र पार्टीमा पुर्याएर मैले गल्ती गरेँ
काठमाडौँ : नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले संविधानमाथि 'कु' गरेको बेला चुनावको औचित्य नहुने दाबी गरेका छन्। एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संविधानको कुनै धारामा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नभए पनि संविधानमा हुँदै नभएको धारा राखेर संसद् विघटन भएकाले यो लोकतन्त्र र स्थायित्वमाथि प्रहार गर्ने काम भएको उनको तर्क थियो।
‘यो असंवैधानिक कदम हो। यसका विरुद्ध डटेर सामना गर्नुपर्ने बेला आएको छ’ उनले भने।
उनले अब ओलीले विश्राम लिनुपर्नेमा जोड्दिँदै ओलीको बोझ देशले बोक्न नसक्ने दाबी गरे। आफू र पुष्पकमल दाहालले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको उनको दाबी थियो।
‘हामीले अहिलेदेखि नै सहमति अनुसार आलोपालो बैठकको अध्यक्षता गर्न थालिसकेका छौँ। हाम्रो विचार, सोच र चिन्तन मिलेको छ,’ उनको दाबी थियो‘ त्यसैले हामी अहिले पार्टी निर्माण गर्ने अभियानमा अघि बढेका छौँ। जबज छोडेका ओलीले अहिले कार्यकर्तालाई दिग्भ्रमित पार्ने काम गर्दै हुनुहुन्छ।’
नेता नेपालले ओलीले भनेको चुनाव कुनै पनि हालतमा नहुने ठोकुवा गरे। उनले अहिलेको अवस्था आउनुमा आफूहरूले पनि जिम्मेवारी लिनुपर्ने बताउँदै भने ‘गणतन्त्र विरोधीलाई सत्ता र पार्टीमा पुर्याएर मैले गल्ती गरेँ, । सुध्रिन्छन् कि भनेर गरियो। अहिले आफैलाई घाँडो भएको छ।’
नेपालले भने'उहाँले पार्टीको नेतृत्व लिएपछि ध्वस्त बनाउनु भयो। मदन भण्डारी फाउन्डेसनको नाममा उहाँले पार्टीमा गुट चलाउनु भयो। उहाँले कम्युनिस्ट विरोधी भएर हिड्नुभयाे।'
माघ १, २०७७ बिहीबार १६:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।