काठमाडौं विश्वविद्यालयमा सक्षम पदाधिकारी नियुक्त गर्न डा. केसीको माग

काठमाडौं विश्वविद्यालयमा सक्षम पदाधिकारी नियुक्त गर्न डा. केसीको माग

काठमाडौं : चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालयको पदाधिकारीमा सक्षम व्यक्ति नियुक्त हुनुपर्ने माग गरेका छन्। 
 

उनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय उपकुलपति नियुक्तिका लागि सर्च कमिटीले प्रक्रिया अघि बढाएको तथा सो पदका लागि तीन दर्जनभन्दा बढी आवेदनहरू परेको अवस्थामा नियुक्ति प्रक्रिया निष्पक्ष र न्यायोचित हुनुपर्ने बताएका हुन्। 

साथै उनले पछिल्लो सत्याग्रहमा आफू र सरकारबीच भएको सम्झौताहरू समेत कार्यान्वयन गर्न पनि माग गरेका छन्। 
विज्ञहरूले सबै उम्मेदवारको योग्यता र अनुभवदेखि भिजनसम्मको मूल्यांकन गरेर मात्रै उपकुलपति नियुक्तिका लागि सिफारिस गरिनुपर्ने उनको भनाइ छ। 

मेडिकल शिक्षा नियमनमा गत वर्षहरूमा देखिएको चरम अनियमितता र बेथितिको केन्द्रमा काठमाडौं विश्वविद्यालयका निवर्तमान पदाधिकारीहरू रहेको पनि डा. केसीले बताएका छन्।

‘देशका आधाभन्दा बढी निजी मेडिकल कलेजहरू उक्त विश्वविद्यालयअन्तर्गत रहेकोमा ती मेडिकल कलेजका सञ्चालकहरूको स्वार्थ र इसारामा पदाधिकारीहरू चल्ने गरेका छन्।’

सरकारले निजी कलेजहरूलाई एमबिबिएस कार्यक्रमका लागि तोकेभन्दा बढी शुल्क लिन पाउने गरी अवैध निर्णयहरू समेत गरेको उनले आरोप लगाएका छन्। 

माघ १, २०७७ बिहीबार १६:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।