चीनमा आठ महिनापछि पहिलो पटक कोरोना संक्रमणबाट मृत्यु 

चीनमा आठ महिनापछि पहिलो पटक कोरोना संक्रमणबाट मृत्यु 

समाचार संस्था सिएनएनका अनुसार कोरोना संक्रमणबाट ज्यान गुमाउने व्यक्ति हुवेई प्रान्तका हुन्। ती व्यक्तिको अन्य विवरण भने खुलाइएको छैन। 

चीनमा गत बुधबार १३८ जना संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य आयोगलाई उध्दृत गर्दै सिएनएनले जनाएको छ। तीमध्ये ८१ हुवेई प्रान्तका छन्। पछिल्लो पटक देखिएको संक्रमण मार्चयताकै सबैभन्दा बढी रहेको समाचार एजेन्सीले जनाएका छन्। 

कोरोना भाइरसको संक्रमण सन् २०१९ को डिसेम्बरमा चीनमै देखिएको थियो। त्यसपछि वुहानमा महामारीको रुपमा फैलिए पनि चीनले कडा लकडाउन र अन्य मापदण्ड अपनाएर नियन्त्रणमा लिएको थियो। 

चीनपछि यो भाइरस विश्वभर फैलिरहेको छ। 

वर्ल्डओमिटर डट इन्फोका अनुसार विश्वभर ९ करोड २७ लाख ७५ हजार ५ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। यसको संक्रमणबाट विश्वभर १९ लाख ८६ हजार ८ सय ४२ जनाले ज्यान गुमाएका छन्। 

चीनमा अहिलेसम्म ८७ हजार ८ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ कोरोना संक्रमणबाट ४ हजार ६ सय ३५ जनाले ज्यान गुमाएका छन्। 

माघ १, २०७७ बिहीबार १०:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।