‘ओलीले जोसँग लडे भनेर राष्ट्रवाद देखाए, उसैसँग आत्मसमर्पण गरे’

‘ओलीले जोसँग लडे भनेर राष्ट्रवाद देखाए, उसैसँग आत्मसमर्पण गरे’

संसद् विघटनको विरोधमा बुधबार पोखरामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै जसपा संघीय परिषद् अध्यक्ष भट्टराईले भारतसँग लडे भनेर राष्ट्रवादको कुरा गर्ने ओलीले उसैसँगै आत्मसमर्पण गरेको आरोप लगाएका हुन्।

उनले भने, ‘जनताको आँखामा खुर्सानी हालेर सत्तामा गएका थिए, तिनैसँग आत्मसमर्पण गरे।’

पार्टीमा अल्पमतमा परेपछि आफूलाई हटाउन सक्ने बुझेर ओलीले नेपाली कांग्रेस र जसपाको समर्थन लिन खोजेको र त्यहाँ विरोध देखिएपछि बाह्य शक्तिको शरणमा पुगेको दाबी गरे। 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भोलिदेखि हुने भारत भ्रमण पनि चलखेलकै कारण हुनसक्ने उनले आशंका व्यक्त गरे। 

संसद् विघटन असंवैधानिक भएको बताउँदै उनले सभामुखले प्रतिनिधिसभा बैठक बोलाएर संसद् विघटनलाई खारेज गर्नुपर्ने बताए। यसमा नेपाली कांग्रेसले भूमिका खेल्नु्पर्ने उनको भनाइ छ। 

संसद् विघटन घोषणा गर्ने राष्ट्रपति र सिफारिस गर्ने प्रधानमन्त्रीलाई महाअभियोग लगाउनुपर्ने भट्टराईले बताए। ‘जसरी डोनाल्ड ट्रम्पलाई त्यहाँको संसदले महाअभियोग लगाउँदै छ, त्यसरी नै यी अपराधीहरूलाई पनि महाअभियोग लगाउने दिशातिर हामी जान सक्छौं,’ उनले भने। 

कार्यक्रममा जसपाका वरिष्ठ नेताद्वय अशोक राई तथा शरदसिंह भण्डारी र पार्टी केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य हरिशरण आचार्यले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर लोकतन्त्र र गणतन्त्र धरापमा पारेको बताएका थिए। 

पुष २९, २०७७ बुधबार २१:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।