गंगामायाको जीवन रक्षाका लागि द्वन्द्वपीडितको अपिल

गंगामायाको जीवन रक्षाका लागि द्वन्द्वपीडितको अपिल

छोरा कृष्णप्रसाद अधिकारीको हत्यारा पहिचान गरी कारबाहीको माग गर्दै अनशनरत अधिकारीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको भन्दै द्वन्द्व पीडित साझा चौतारीले जीवन रक्षाका लागि अपिल गरेको हो। 

अधिकारीको माग सम्बोधनका लागि सरकारका  तर्फबाट कुनै पहल नहुनुले समेत सरकार द्वन्द्वबाट पीडित समुदायको पीडाप्रति संवेदनशील नभएको चौतारीको विज्ञप्तिमा उल्लेख छ।

द्वन्द्वपीडितहरुले भनेका छन् ‘गंगामायाको आफ्नो छोराको हत्याको निष्पक्ष छानबिन र न्यायको मागप्रति द्वन्द्व पीडित साझा चौतारी ऐक्यबद्धता जाहेर गर्दै अनशनरत अधिकारीको जीवन रक्षाका लागि तत्काल आवश्यक पहलकदमी लिन सरकारसँग जोडदार माग गर्दछ।’

चौतारीले सर्वोच्च अदालतको फैसलाबमोजिम संक्रमणकालीन न्याय सम्बन्धी ऐन विश्वसनीय प्रक्रियाबाट संशोधन गर्न एवम् सक्षम, निष्पक्ष र स्वतन्त्र आयोग पुनर्गठन गरी आम द्वन्द्वपीडितलाई सत्य, न्याय र परिपूरण प्रदान गर्न सरकारलाई सजग गराएको छ। 

गंगामाया २०७७ पुस ६ गते देखि वीर अस्पतालस्थित ट्रमा सेन्टरमा १२ औं आमरण अनशनमा छिन्। 
गोरखा, फुजेल–७ का १८ वर्षीय कृष्णप्रसाद अधिकारीको चितवन, जयमंगलामा हजुरबुबा–हजुरआमा भेट्न गएको बेला २०६१ जेठ २४ गते हत्या भएको थियो।

छोराको हत्या आरोपीलाई कारबाहीको माग गर्दै तीन सय ३० दिन अनशन बसेपछि नन्दप्रसादको २०७१ असोज ६ गते निधन भएको थियो। 

नन्दप्रसादको अझैँ दाहासस्कार हुन सकेको छैन। उनको शव त्रिवि शिक्षण अस्पतालमै छ।
 

पुष २९, २०७७ बुधबार १८:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।