सुर्खेत घटनाको नेविसंघद्वारा भत्सर्ना

सुर्खेत घटनाको नेविसंघद्वारा भत्सर्ना

इन्जिनियरिङ्ग संकायका विद्यार्थीले शैक्षिक मागहरु राखी विश्व विद्यालयको केन्द्रीय कार्यालयमा शान्तिपूर्वक धर्ना दिइ रहेको अवस्थामा प्रहरी लगाएर दमन गरेको घटनाको नेविसंघले घोर भत्सर्ना एवं निन्दा गरेको छ। नेविसंघका अध्यक्ष राजिव ढुंगानाले आइतबार विज्ञप्ति प्रकाशित गरि घट्नाका दोषीलाई कारबाहीको माग गरेका छन्। विद्यार्थीका जायज शैक्षिक मागहरूको सुनुवाइ गर्नुकोसट्टा उपकुलपतिको ठाडो निर्देशनमा विद्यार्थीमाथि अन्धाधुन्द लाठी चार्ज गर्दै, अश्रु ग्याँस प्रहार तथा हवाइ फायरिङ्ग गरेको नेविसंघले जनाएको छ।  
उक्त घटनामा गम्भीर घाइते भई अस्पतालमा उपचाररत मध्यपश्चिम विश्वविद्यालय स्ववियू सदस्य नेता रोशन वस्नेतलगायत नेविसंघका नेताहरु तर्कराज शाही, लक्ष्मण वोगटी, राजन के. सी., विवेक खड्का एवं न्युटन वलीको नेविसंघले शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ।
विद्याको पवित्र मन्दिरमा आफ्ना शैक्षिक मागहरु उपकुलपतिसमक्ष प्रस्तुत गर्न जाँदा तिनै उपकुलपतिको ठाडो आदेशमा विद्यार्थीहरु माथि यस प्रकारको वर्वर दमन हुनु जति निन्दनीय छ, त्यति नै लज्जाजनक पनि छ। विज्ञप्तिमा भनिएको छ, राजनैतिक अभिष्ट पूरा गर्न प्राज्ञिक पदहरु हत्याउने, अनि विश्व विद्यालयको शैक्षिक उन्नयनका लागि भन्दा शासक बनि विद्यार्थीलाई तर्साउने एवं विश्व विद्यालयलाई भर्ति केन्द्र र कमाउ अखडा बनाउन लागि पर्ने पात्रहरू विश्व विद्यालयका निम्ति मात्र हैन, समाज कै निम्ति कलंक हुन्।
विद्यार्थीमाथिको बर्बर दमनमा संलग्न हरुलाई कडा कानुनी कारबाही गर्न माग गर्दै नेविसंघले अन्यथा विद्यार्थी आफै कारबाही गर्न वाध्य हुने चेतावनी दिएको छ।

पुष २६, २०७७ आइतबार २३:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।