पूर्वराजा ज्ञानेन्द्रले फ्याके संवैधानिक राजतन्त्रको 'दुक्की'

पूर्वराजा ज्ञानेन्द्रले फ्याके संवैधानिक राजतन्त्रको 'दुक्की'

सक्रिय राजतन्त्रको लोभ गर्दा राजगद्दी त्याग्न बाध्य भएका उनले पृथ्वी जयन्तीको मौका पारेर सन्देश जारी गर्दै भने‘ जनताको चाहना हुँदा शाह वंशीय राजाहरूले सक्रिय भूमिका मात्र निर्वाह गरेका छैनन्, संवैधानिक राजतन्त्रको मर्यादा अनुरूप व्यवहार पनि भएको छ।'

उनले आफू जनचाहना अनुसार अगाडि बढ्न तयार रहेको भन्दै दलहरूप्रति कटाक्ष समेत गरेका छन्।

राजनीति भन्नु देश सेवाको उच्चतम साधना भन्दै उनले सन्देशमा भनेका छन् 'हामीले व्यहोरेको राजनीति कति इमानदार र राष्ट्र केन्द्रीत छ, कति जनहित अनुकूल छ त्यसको समीक्षा हुन अब विलम्ब भइसकेको छ।'

परिवर्तनका  नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवाञ्छित क्रियाकलाप यहाँ भित्रिएको महसुस आम नेपालीले गर्नुपरेको उल्लेख गर्दै उनले नेपालमा बढ्दे विदेशीको प्रभावको सङ्केत समेत गरेका छन्।

दलको कमजोरीमा खेल्ने प्रयास 

दरबार हत्याकाण्डपछि राजगद्दीमा पुगेका ज्ञानेन्द्रमा प्रत्यक्ष शासन चलाउने लोभ गर्दा संवैधानिक राजतन्त्र खारेज भएको थियो। उनले तत्कालीन समयमा दलहरूबीच बढ्दो तनावको फाइदा उठाउँदै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई उक्साएर संसद् विघटन गर्दै प्रत्यक्ष शासन प्रणाली ल्याएका थिए।

तर त्यो लामो चल्न सकेन। लोकतान्त्रिक आन्दोलनले उनलाई संविधानले दिएको संवैधानिक सम्मानसमेत खारेज गर्दै नेपाल राजतन्त्रमुक्त मुलुक भएको थियो।

तर राष्ट्रिय प्रजातन्त्र पार्टी अझै पनि संवैधानिक राजतन्त्रको पक्षमा खुल्ला वकालतमा छ। नेपाली काङ्ग्रेसभित्र पनि संवैधानिक राजतन्त्रको लोभ गर्ने नेताहरू छन् नै। संसद् विघटन गराएर मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री केपी ओलीको कदमपछि अहिले पनि दलहरूबीच दुरी बढ्दो छ।

नेकपामा चरम विवाद छ भने नेपाली कांग्रेसभित्र समेत राजतन्त्र पक्षधरको दबाब बढ्दै गएको बेला ज्ञानेन्द्रले संवैधानिक राजा भएर बस्ने इच्छा व्यक्त गरेर भड्किएको जनमत आफ्नो पक्षमा ल्याउने प्रयास गरेको देखिन्छ।

तर, उनको बदनाम विगतले कुनै पनि स्वरूपमा राजतन्त्र फर्कने सम्भावना भने देखाउँदैन।

 

पुष २६, २०७७ आइतबार २१:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।