भायोनेटको डेटा चोर्ने ह्याकर ‘नरपिशाच’ पक्राउ, मर्कन्टाइल, फुडमान्डु ह्याक गर्ने भेटिएनन्
काठमाडौँ : भायोनेट कम्युनिकेसनको ग्राहक विवरण प्रणालीमा अनधिकृत पहुँच पूर्याएर विवरणहरू सार्वजनिक गरेको अभियोगमा नेपाली ह्याकर ‘नरपिशाच’ पक्राउ परेका छन्।
प्रहरीको साइबर ब्युरोले रुपन्देही बस्ने उनलाई आइतबार विद्युतीय कारोबार ऐन अनुसार बुटवलमा पक्राउ गरेको हो। उनको उमेर १७ वर्ष रहेको प्रहरीले जानकारी दिएको छ।
ब्युरोका अनुसार उनले भायोनेटको नेटवर्कमा अनधिकृत रूपमा पहुँच राखेर डेटा ब्रिज गरी नरपिचास नामको ट्विटर ह्यान्डल लगायत फेसबुक र इन्टाग्रामबाट समेत ती डेटा सार्वजनिक गरेका थिए।
नेपालमा ह्याकर समूह
नेपाली भूमिमा भारतीय पक्षले एकपक्षीय रूपमा सडक बनाएसँगै बढेको तनावसँगै नेपालका र भारतीय ह्याकरबिच एक अर्काको देशका साइटहरू ह्याक गर्ने प्रतिस्पर्धा सुरु भएको थियो। नेपालको कालापानी र लिपुलेक क्षेत्रमा भारतीय पक्षले एकतर्फी रूपमा चीन जोड्न सडक बनाएपछि कुटनीतिकतहमा तनाव शुरू भएको बेला साइवर स्पेसमा समेत त्यसको प्रभाव परेको थियो।
त्यो बेला भारतीय ह्याकरहरूले नेपाली साइट ह्याक गरे भने नेपालीले भारतीय।
सैतान नामकरण गरिएको नेपाली ह्याकर समूहले प्रारम्भमा बलिउडमा कार्यरत नेपाली नायिका मनीषा कोइरालाविरुद्ध घृणा फैलाउने गरी एकतर्फी समाचार प्रसारण गरेको एबिपीन्युजको साइटमा आक्रमण गरेका थिए। उनीहरूले एबिपीन्युजको एपिआइ की ह्याक गरी ट्विट गर्दै सार्वजनिक गरिदिएका थिए। उनीहरूले युनिभर्सिटी अफ लद्दाखको विद्यार्थीहरूको सबै विवरणसमेत सार्वजनिक गरिदिएका थिए भने जलाइगुडी इन्जिनियरिङ कलेजको डाटाबेसमा आक्रमण गरेको दाबी गरेका थिए।
यही समूहले नेपालमा त्रिभुवन विश्वविद्यालय र सिटिइभिटीको साइटमा रहेको सबै कर्मचारीहरूको गोप्य विवरण सार्वजनिक गरिदिएका थिए। प्रभु मनी ट्रान्सफरलगायतकाको विवरण पनि यही नाममा सार्वजनिक भएको थियो। पछि उनीहरू भारतीय साइट ह्याकमा लागे।
नेपालमा यस अगाडि मर्कन्टाइल, फुडमान्डुडटकमको डेटा समेत सार्वजनिक भएको थियो। रक्षा मन्त्रालय लगायतका सरकारी वेबसाइटहरू पटक पटक ह्याक हुने गरेका छन्। बैङ्कको सिस्टममै प्रवेश गरेर पैसा ट्रान्सफरसमेत भएका छन्।
कभर तस्बिर : सांकेतिक
पुष २६, २०७७ आइतबार १६:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।