मोटरसाइकल दुर्घटनामा एकको ज्यान गयो
काठमाडौं : भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
भक्तपुरबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.३.०२.०४ ७३२४ नम्बरको मोटरसाइकल र सोही दिशामा जाँदै गरेको वा ५३ प ९८६४ नम्बरको मोटरसाइकल एकापसमा ठोकिएर दुर्घटना भएको हो।
दुर्घटनामा उदयपुर लिमचुङबुङ गाउँपालिका–१ घर भई हाल मध्यपुरथिमि–१ लोकन्थली बस्ने २२ वर्षीय मनराज राईको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सोही ठाउँकी २४ वर्षीया मनिकला राईको केएमसी अस्पताल सिनामङ्गलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
अर्का घाइते वा५३प ९८६४ नम्बरका मोटरसाइकल चालक रौतहट गौर नगरपालिका–८ घर भई हाल ललितपुर मङ्गलबजार बस्ने ४१ वर्षीय युवराज विक सामान्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ।
दुर्घटना भएका सवारी साधनसहित महानगरीय प्रहरी वृत्त थिमिले नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
पुष २६, २०७७ आइतबार १५:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।