प्रधानमन्त्री ओलीको दाबी– मेरो कार्यकालमा जस्तो विकासका काम अरु कुनै सरकारले गरेको छैन 

प्रधानमन्त्री ओलीको दाबी– मेरो कार्यकालमा जस्तो विकासका काम अरु कुनै सरकारले गरेको छैन 

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा असाधारण विकास भएको दाबी गरेका छन्।

राष्ट्रियसभाको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो कार्यकालको जस्तो विकास यसअघि अरु कुनै पनि सरकारका पालामा नभएको दाबी गरे। 
 

ओलीले यो सरकारको पालामा रानीपोखरी देखि भूकम्पले भत्काएका संरचनाको पुनर्निर्माण भएको बताए।

‘विकासलाई तीव्रताका साथ अघि बढाएका थियौं। रानीपोखरी धुलोले पुरिने अबस्था थिएन। अहिले रानीपोखरी तयार गरेर उद्घाटन गर्यौं,’ उनले भने।

त्यसैगरी उनले आफ्नो सरकारले एक वर्षमै ९८० किलोमिटर सडक पिच गरेको पनि बताए। ‘एक वर्षमै सरकारले ९८० किलोमिटर सडक कलोपत्रे गरेको छ। असाधारण ढंगले विकासका काम भएका छन्’, उनले भने, ‘द्रूतगतिमा काम भएको छ। यसभन्दा अघि कुनै पनि सरकारको पालामा यसरी विकास भएको थिएन।’

उनले महाकालीमा पुल बनिरहेको, किमाथांका नाकामा सडकले जोडिरहेको बताउँदै देशभर विकासको लहर चलेको पनि बताए। ‘सरकारले तीव्र गतिमा विकासको काम गरिरहेको छ’, उनले भने, ‘सरकारले काम गरेको देख्न नसकेर निर्वाचनबाट बहुमत पाएको सरकारलाई हटाउन खोजियो, अनेक षडयन्त्रका तानाबाना बुनियो।’

कस्तो न्याय दिनुभयो होला ?

यस्तै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीशले विज्ञप्ति जारी गरेर अदालतलाई धम्की दिएको आरोप लगाए। आफ्नो कदमको विरोध गरेकोप्रति उनले आक्रोश पोखे। 

‘सर्वोच्च अदालतलाई दबाब दिने ढंगले स्वतन्त्र रुपमा न्याय निरुपण गर्न वाधा पुर्याउने गरि काम भइरहेका छन्’ उनले भने,  ‘केही वर्ष सर्वोच्च अदालतमा जागीर खाँदैमा अहिले पनि आफैं छु झैं गरेर केही पूर्वन्यायमूर्तिहरुले कस्तो न्याय दिनुभयो होला आफ्नो समयमा, अचम्म लाग्छ। कस्तो न्याय दिनुभयो होला सडकमा उत्रेर यस्तो फैसला गर्नुस् भन्नु भएको छ।’ 

उनले पूर्वप्रधानन्यायाधीशहरुको कार्यक्षमतामाथि पनि प्रश्न उठाएका छन्। ‘‘के सर्वोच्चमा वकालत नपढी र विना अनुभव पुगेको छ। के त्यो पत्रकार सम्मेलन गर्ने र वक्तव्यवाजी गर्नेले मात्र पढेको छ कानुन ? वहाँहरुले दबाब दिने मनसायले काम गर्नुभयो’ ओलीले भने, ‘पक्षधरका हिसाबले काम गर्नु भएको छ। स्वतन्त्र देखिने नागरिक समाज भन्ने अनि न्यायलयलाई दबाबमा पार्न खोज्ने। म भन्न चाहन्छु, न्यायालय दबाबमा पर्न हुँदैन।’ 

आफ्नो कदम असंवैधानिक भन्ने कानुनविदहरुको पनि उनले आलोचना गरे। ‘कुनै अधिवक्ताले प्रधानन्यायाधीशलाई वर्तमान र भविश्य सम्झेर फैसला गर्नुस् भनेर भन्न मिल्छ। यो धम्की होइन ?’ ओलीले भने ‘मैले नेतृत्व गरेको सरकार अदालतको स्वतन्त्रता र स्वतन्त्र न्यायपालिका मान्छ। शक्तिपृथकीकरणको सिद्धान्त मान्छ।’ उनले वृहत पूर्ण इजलास माग गरेकोप्रति पनि आलोचना गरे। 

‘संवैधानिक विषयमा संवैधानिक इजलासले गर्ने भनेको छ, तर एकथरीले यसले फैसला गर्न पाइदैन भन्न थालेका छन्।

यो संविधानको व्यवस्था हैन र ?’ उनले भने, ‘लोकतन्त्रमा शक्ति पृथकीकरण हुन्छ। कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका छ। अधिवक्ता, एमिकस क्युरी र सरकारी वकिलले बहस गर्नु एकथरी हुन्छ। तर सडकबाट फैसला गर्ने। प्रतिनिधि सभा विघटन भएको छैन भन्ने, मुद्दा हाल्न जाने, यो अवस्था किन आयो होला ?’  संसद विघटन असंवैधानिक र संविधानविपरीत छ भन्नेहरुलाई उनले संविधान राम्ररी पढेर मात्र बहस गर्न आग्रह गरे।

यस्तै ओलीले निर्वाचन भन्ने बित्तिक्कै केही तत्वहरु डराइरहेको भन्दै निर्वाचनको मिति तय भइसकेकाले चुनावी मैदानमा आउन चुनौती दिए।

‘केपी ओलीले गल्ती गरेको छ भने जनताले दण्डित गर्लान् जजसलाई चित्त बुझेको छैन तपाईहरु आउनु मैदानमा केपी ओलीले गल्ती ग¥यो भनेर भन्नुस् जनतालाई,’ उनले भने।
 

पुष २६, २०७७ आइतबार १५:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।