कांग्रेस प्रतिनिधिसभा पुनःस्थापनाको एजेण्डासहित जनतामा जान्छ, कसैले रोक्न सक्दैन् : पौडेल 

कांग्रेस प्रतिनिधिसभा पुनःस्थापनाको एजेण्डासहित जनतामा जान्छ, कसैले रोक्न सक्दैन् : पौडेल 

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले मुलुकलाई भूमरीबाट बचाउँनका लागि नेपाली कांग्रेसले नेतृत्व लिने बताएका छन्। 

नेपाल प्रजातान्त्रीक विचार समाजले आयोजना गरेको सूर्यप्रसाद उपाध्याय विशेष पुस्तक विमोचन कार्यक्रममा वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन्।

वीपी कोइरालाले कुनै समय दक्षिण एशियामा भूमरी आउने भनेको स्मरण गर्दै अहिले प्रतिनीधिसभा विघटन गरेर भूमरी ल्याएको उनको भनाई थियो।

उनले नेपाललाई भूमरीबाट जोगाउनका लागि कांग्रेसले नेतृत्वदायी भूमिका लिनुपर्ने बताउदै भने ‘नेपाललाई भूमरीबाट जोगाउनका लागि संसदको पुनःस्थापना मात्रै विकल्प हो। अब कांग्रेस संसद पुनःस्थापनाका लागि जनतामा जान्छ।

कांग्रेसलाई कसैले रोक्न सक्दैन।’ सभापति शेरबहादुर देउवासमेत सहभागि कार्यक्रममा पौडेलले संविधान बचाएर मात्र  चुनावमा जान सकिने बताए। उनले संविधानसभाबाट संविधान बनाउने आफुहरु अझै जीवीत रहेको भन्दै संविधान जोगाउनका लागि आन्दोलनमा जाने बताए।

‘पूर्व प्रधानन्यायधीशहरुले आफ्नो विचार राख्दा प्रधानमन्त्री धम्की दिने अनि सर्वोच्च अदालतले पुनःस्थापना गर्नै सक्दैन भनेर प्रधानमन्त्री नै ठेक्का लिने के यही हो लोकतन्त्र ?’ पौडेलले प्रश्न गरे। 

पौडेलले संविधानमा तत्कालिन माओवादी र एमालेको इच्छा अनुसार नभइ कांग्रेस सिद्धान्त अनुसार संसदीय व्यवस्थासहितको संविधान बनेकाले कम्युनिष्टहरु संविधान भत्काउन लागेको आरोप लगाए।

उनले संविधानको धारा ७६को उपधारा ५ अनुसारको प्रधानमन्त्रीले मात्र संसद विघटनको सिफारिस गर्न सक्ने स्पष्ट व्यवस्था भएको बताए। 

पुष २६, २०७७ आइतबार १४:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।