'ओली प्रतिगमनको औजार बने, देउवा सदाबहार ढुलमुले'
काठमाडौँ : डा देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले संयुक्त विज्ञप्ति जारी गर्दै हठात् प्रतिनिधिसभाको विघटन र प्रतिगमनको बढ्दो चलखेलले लोकतन्त्र, शान्ति र समृद्धिका पक्षधर स्वाभिमानी नागरिकलाई चिन्तित तुल्याएको बताइएका छन् ।
उनीहरूले अमुक पार्टीको आन्तरिक किचलोलाई सम्बोधन गर्न स्वेच्छाचारी तवरले गरिएको प्रतिनिधिसभा विघटन अराजनीतिक, गैर संवैधानिक, जनआकाङ्क्षा विरोधी र मुलुकको हित बिपरित रहेको र प्रतिगमन कै अंश समेत देखिएको भन्दै यो अमान्य रहेको बताएका छन्।
दुवैले गलत कदम सच्याउँदै प्रतिनिधिसभा पुन सुचारु हुने व्यवस्था गर्न आह्वान गरेका छन्।
‘२०६२–६३ को ऐतिहासिक जनआन्दोलनको जगमा नेपालमा शान्ति र लोकतान्त्रिक विकासको आधार निर्माण भएको थियो । त्यही जनआन्दोलनको बलमा राजतन्त्र पहिले निलम्बन र पछि उन्मुलन भएको हो,’ विज्ञप्तिमा भनिएको छ‘त्यही जनआन्दोलनको जनादेश अनुरूप संविधानसभाको निर्वाचन भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । नेपालको संविधानले कैयन उपलब्धिलाई समेट्दै संस्थागत गरेको छ, तथापि यसभित्र केही कमजोरी पनि छन् । प्राप्त उपलब्धि संरक्षण गर्दै कमी कमजोरी सुधार गर्नु, राज्य व्यवस्थालाई अझ समावेशी, सहभागितामूलक र समुन्नत बनाउँदै लैजानुपर्नेमा प्राप्त उपलब्धिहरूमाथि जिम्मेवार कोणहरूबाट नै निरन्तर आक्रमण भइरहेको छ ।’
संविधान जारी भई तीनै तहको निर्वाचन भए पश्चात् सर्वत्र सुशासनको अपेक्षा गरिएको तर मुलुकको राजनीतिक नेतृत्व त्यो अपेक्षामा खरो उत्रन नसकेको उल्लेख गर्दै संयुक्त विज्ञप्तिमा भ्रष्टाचारका ठुला घटनाहरूको ढाकछोप र दण्डहीनताका कारणले पनि नागरिक आक्रोशित भएको उल्लेख छ।
राजनीतिलाई विकासमुखी, राज्य संयन्त्रलाई जनउत्तरदायी, सेवामुखी र समग्र समाजलाई उद्यममुखी बनाउन नसक्नु सरकार र दलहरूको अक्षम्य कमजोरी भएको र सत्तासीनहरूको कमजोरीका कारण सुषुप्त अवस्थामा रहेका परिवर्तन बिरोधिको मनोबल बढ्दै गइरहेको विज्ञप्तिमा उल्लेख छ।
‘जन निर्वाचित प्रतिनिधिसभाको असंवैधानिक विघटनले परिवर्तन विरोधीहरू जागृत भएको र मोर्चा बन्दीतर्फ अग्रसर भएको देखिँदै छ । प्रतिवादमा सार्वभौम नागरिकहरू आन्दोलित हुनु स्वाभाविक हो ’ विज्ञप्तिमा भनिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगमनका लागि औजार हुन पुगेको ठहर गर्दै दुवै नागरिक अगुवाले लोकतान्त्रिक मूल्य मान्यताको धरोहर दाबी गर्ने प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सदाबहार ढुलमुले चरित्र थप चिन्ताको विषय बनेको उल्लेख गरेका छन्।
‘नागरिकमा बढ्दै गएको वितृष्णालाई अन्त्य गर्न प्रमुख राजनीतिक दलहरूले विगतमा गरेका गल्तीहरू प्रति क्षमा याचना गरुन् । साथै भविष्यमा त्यस्ता गल्ती नदोहोर्याउने प्रतिबद्धता सहित सुशासनको प्रत्याभूति गर्न र सक्षम, सबल लोकतान्त्रिक प्रणालीको विकास र मुलुकको सर्वाङ्गीण उन्नतिका लागि मार्गचित्र तय गर्न प्रतिनिधिसभा भित्र र बाहिरका राजनीतिक शक्तिहरू एकजुट हुन आह्वान गर्दछौँ ’ विज्ञप्तिमा उल्लेख छ।
पुष २६, २०७७ आइतबार १३:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।