छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको ज्यान गयो

छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको ज्यान गयो

काठमाडौं :  देशका विभिन्न स्थानमाा भएका सवारी दुर्घटनामा परी पाच जनाको ज्यान गएको छ।

डडेलधुरा, झापा, मोरङ र महोत्तरीमा सवारी दुर्घटनामा परी चार जनाको ज्यान गएको हो। डडेल्धुरामा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने एक जना घाइते भएका छन्। 
धनगढीबाट अछामतर्फ गइरहेको ना ६ ख ३८१७ नम्बरको ट्रक आइतबार बिहान ३ बजे जिल्लाको अमरगढी नगरपालिका–११ सल्लाघारीमा दुर्घटना भएको प्रहरीले जनाएको छ। डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालका अनुसार ट्रक चालक कैलाली गेटाका ३५ वर्षीय ओमप्रकाश पन्तको ज्यान गएको छ। बाजुराको बडीमालिका नगरपालिका–५ का १८ वर्षीय मदन साउँद घाइते भएका छन्। 
रातिको समयमा चालक निदाएकोले दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।                                               यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामा गए राति भएको दुर्घटनामा स्थानीय एक युवाको मृत्यु भएको हो।  

जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति साढे आठ बजे झापाको दमकबाट पूर्वतर्फ मोटरसाइकलमा जाँदै गरेका शिवसताक्षी नगरपजादै-११ का ३८ वर्षीय छविरमण ढकालको मृत्यु भएको हो। झिलझिले निवासी उनी लाइभकियर फर्मास्युटिकलका प्रबन्धक हुन्।

शिवसताक्षी-१ स्थित धरमपुरमा पर्ने कमलखोला सडकखण्डमा उनी सवार मोटरसाइकल दुर्घटना भएको हो। मे३प ९८९६ नंको मोटरसाइकलमा सवार ढकाल आफै अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।
 
यस्तै शनिबार साँझ जिल्लाको बुद्धशान्ति गाउँपालिका–३ स्थित धाइजन चोकमा मे१च ५३९६ नंको पिकअप भ्यानलाई विपरीत दिशाबाट आउँदै गरेको मे२प ६९८४ नंको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकलमा सवार अर्जुनधाराका ५० वर्षीय छत्रबहादुर मगरको मृत्यु भएको छ।  

यस्तै महोत्तरीको मनरासिस्वा नगरपालिकामा शनिबार साँझ मोटरसाइकल दुर्घनामा परेर एक भारतीय युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतको विहार राज्यको बारा पञ्चायतका २२ वर्षीय रवीन्द्र पासवान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।  

गाउँकै साथी सरोज पासवानसँग अनटेस्ट मोटरसाइकल मनरासिस्वा नपा १ स्थित सडकमा तीव्रगतिका कारण अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा पछाडि बसेका रवीन्द्र गम्भीर घाइते भएर उपचारका लागि जलेश्वर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। 
मृतक भारतीय युवक रवीन्द्रको शव परीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको छ। चालक सरोज र दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।   

यस्तेै मोङमा मोटरसाइकलको ठक्करबाट एक सात वर्षीया बालिकाको ज्यान गएको छ। उर्लाबारी नगरपालिका-८ की ७ वर्षीया अदीति ओझाको ज्यान गएको हो

उत्तरतर्फ जाँदै गरेको मोटरसाइकलले उर्लाबारी ५ स्थित भित्री पक्की सडक खण्डमा दिउँसो साढे ३ बजे बजेतिर ठक्कर दिँदा बालिका गम्भीर घाइते भएकी थिइन्। 

उनको उपचारका क्रममा साँझ साढे ७ बजेतिर विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा ज्यान गएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले बताए। 
मोटरसाइकल चालक उर्लाबारी ५ का ५० वर्षीय विनोद अग्रवाल पनि दुर्घटनामा सामान्य घाइते भएका छन्। 

अग्रवालको उर्लाबारीस्थित गोदावरी अस्पतालमा उपचार भइरहेको छ। घटनाको अनुसन्धानका लागि प्रहरीको निगरानीमा उनको उपचार भइरहेको छ भने मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

पुष २६, २०७७ आइतबार १२:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।