कात्तिक नाच संरक्षणका लागि ललितपुर महानगरपालिकाले ५० लाख दियो

कात्तिक नाच संरक्षणका लागि ललितपुर महानगरपालिकाले  ५० लाख दियो

ललितपुर : कात्तिक नाच संरक्षणका लागि ललितपुर महानगरपालिकाले  ५० लाख दिएको छ। 

मेयर चिरीबाबु महर्जनले कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारलाई नाच संरक्षणका लागि अक्षयकोष स्थापना गर्न सो रकम बराबरको चेक हस्तान्तरण गरे।

उनले वडा २१ खोकनामा नाचिने ‘रुद्रायणी नाच’ र वडा २९ हरिसिद्धिमा मनाइने ‘हरिसिद्धि भवानीको जात्रा एवं नाच’ संरक्षणका लागि पनि रकम सहयोग गर्ने योजना बनाइरहेको जानकारी दिए।

 यसअघि कोष स्थापनाका लागि १६ वडाका वडाध्यक्ष निर्मलरत्न शाक्यले १० लाख सहयोग गरिसकेको पनि उनले जानकारी दिए। अझै अन्य दाताबाट पनि रकम सहयोग हुने अपेक्षा रहेको उनको भनाइ थियो।

हरेक वर्ष पाटन कृष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’मा यो नाच मञ्चन गर्ने गरिन्छ। कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यसलाई ‘कात्तिक नाच’ भनिएको हो। परापूर्वकालदेखि चलेको नृत्य यसपटक कोरोना कहरका कारण इच्छुक व्यक्तिले प्रत्यक्ष हेर्न नपाए पनि घर–घरबाटै टेलिभिजनमार्फत हेर्ने व्यवस्था मिलाइएको थियो।

विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ यस नाच चलाएका थिए। यो नाच विश्वकै सबैभन्दा लामो नाट्य महोत्सव रहेको दाबी गरिन्छ।

पुष २६, २०७७ आइतबार ०९:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।