गैडा तस्करका आरोपी १५ वर्ष पछि पक्राउ
चितवन : चितवनमा गैँडा तस्करको आरोप लागेका एक जना १५ वर्षपछि पक्राउ परेका छन्।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउपर्नेमा माडी नगरपालिका-५ का ४८ वर्षीय शनिचरा महतो रहेका छन् ।
अधिकारीका अनुसार उनलाई निकुञ्ज प्रशासनले विसं २०६२ असारमा गैँडा मार्ने क्रममा प्रत्यक्ष संलग्न भएको आरोपमा उनीविरुद्ध असोज १२ गते मुद्दा दायर गरको थियो।
उनको मुद्दा विसं २०६४ पुस २० गते फैसला भई १५ वर्ष कैद र रएक लाख जरिवाना तोकिएको थियो। फरार रहेका अवस्थामा माडीको पिपरियाबाट उनलाई पक्राउ गरिएको हो। उनी विसं २०६२ सालमा निकुञ्जको भित्री इलाका भालुटापुमा गैँडा मार्ने क्रममा प्रत्यक्ष संलग्न भएको निकुञ्जले दाबी गरेको छ। उनले भारतबाट अत्याधुनिक हतियार खरिद गरी गैँडा मार्ने कार्यमा सहयोग गर्नुका साथै खाग बिक्रीमा संलग्न भएको पाइएको निकुञ्जले जनाएको छ ।
महतो पक्राउ पर्नुलाई निकुञ्ज अधिकारीले ठूलो सफलताका रुपमा लिएका छन्। पछिल्लो समय निकुञ्जमा चोरी शिकारी बढेको छ। साउनयता तस्करले मारेका चार गैँडा फेला परेपछि निकुञ्जमा निगरानी बढाइएको छ।
पुष २३, २०७७ बिहीबार ०९:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।