सब– इन्जिनियर डेढ लाख घुससहित पक्राउ
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँबाट एक जना सब इन्जिनियरलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ।
आयोगको पोखरा कार्यालयले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) तनहुँदा कार्यरत सब– इन्जिनियर सुरेन्द्र अधिकारीलाई १ लाख ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो।
आयोग पोखराका प्रवक्ता मेघनाथ रिजालले विद्यालयको शौचालयको निर्माण सम्पन्न गरेको विवरण बनाएवापत सब इन्जिनियर अधिकारीले सेवाग्राहीबाट घुस मागेको पाइएको जानकारी दिए।
सब इन्जिनियर अधिकारीले भानु –५ मैबलको सरस्वती माध्यमिक विद्यालयमा १४ लाख ६९ हजारमा निर्माण गरिएको शौचालयको योजना अनुगमनपश्चात् काम सम्पन्नको विवरण दिलाए वापत घुस मागेका थिए।
विद्यालयका अधिकारीहरुले अख्तियारमा उजुरी दिएपछि टोलीले व्यास–३ मालपोत लाइनको भीरकोट रेस्टुरेन्टमा नगद दिनासाथ नियन्त्रणमा लिएको हो। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ।
पुष २२, २०७७ बुधबार २१:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।