संसद विघटन गर्ने असंबैधानिक कदमको चर्को विरोध 

संसद विघटन गर्ने असंबैधानिक कदमको चर्को विरोध 

काठमाडौं : संविधानले परिकल्पना नै नगरेको अधिकार प्रयोग गरी प्रधानमन्त्री केपी ओलीले  संसद् विघटन गरेको भन्दै राजनीतिकर्मी तथा नागरिक अगुवाहरुले चर्को विरोध गरेका छन्। 

ओलीकै सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संसद् विघटन गरी ताजा जनादेशका लागि भन्दै नयाँ निर्वाचनको मिति जारी गर्नु पनि ठूलो घात भएको उनीहरुले बताए। 

काठमाडौं उत्तरपूर्वी नागरिक समाजले मंगलवार साँझ बौद्धमा गरेको कोण सभामा वक्ताहरुले ओलीको अवैधानिक तथा असम्बैधानिक कदमा विरुद्ध सबै राजनीतिकर्मी तथा पेशाकर्मी एकजुट हुनुको विकल्प नरहेको धारणा राखे।

मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष उत्तम पुडासैनीले प्रधानमन्त्री ओलीका कारण सिङगो व्यवस्था नै सङ्कटमा परेको भन्दै ओलीको प्रतिगामी कदमको सशक्त प्रतिवाद गरिने चेतावनी दिए।

कार्यक्रम संयोजक तथा समाजका पूर्व महासचिव कुमारराज सुवेदीले ओलीले परिवर्तनको पक्षमा भएको झुठो नाटक रच्दै झेली राजनीतिक खेल खेलेर आफ्नो निधारमा कहिल्यैं नमेटिने कलङ्कको टिका लगाएको टिप्पणी गरे। 

जनता समाजवादी पार्टीका नेता आङकाजी शेर्पाले ओलीसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले खुल्लम खुल्ला प्रतिगामी कदम चालेको बताए। जापानका लागि पूर्व राजदूत डाक्टर गणेश योञ्जनले पुस ५ को कदमले मुलुक पुन राजनीतिक अस्थिरताको भूमरीमा फसेको धारणा राखे।

मानवअधिकार तथा शान्ति समाज काठमाडौंका अध्यक्ष जगन्नाथ पुडासैनीले ओली कहिल्यै पनि सच्चा गणतन्त्रवादी नभएको उदाहरण दिँदै ओलीकै कारण लोकतान्त्रिक गणतन्त्रमा ठूलो सङ्कट आएको दाबी गरे।

अधिकारकर्मी महेश आचार्यले अबका दिन अझ चुनौतिपूर्ण हुन सक्ने भन्दै सबै तह र तप्काका मान्छे आन्दोलनमा उत्रनु पर्ने आवश्यकता औंल्याए।

समाजका विभिन्न पेशामा आबद्ध भएकाहरुको र्याली जोरपाटी चोकबाट सुरु भई बौद्धमा पुगेर कोणसभामा परिणत भएको कार्यक्रम संयोजक कुमारराज सुवेदीले जानकारी दिए।

सुवेदीले आगामी दिनमा अझ शशक्त आन्दोलनका कार्यक्रम ल्याइने बताए। अहिलेको जटिल परिस्थितिमा राजनीतिक पार्टीका स्थानीय नेतृत्वलाई आ–आफ्नो दलको स्पष्ट नीति र अडान राख्न आमन्त्रण गरिएको र त्यसमा पनि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सदन र सडकको नेतृत्व लिने समयमा अझै सत्ताको जोड घटाउमा लागेको हो कि भनी सुवेदीले प्रश्न गरे।

पुष ७, २०७७ मंगलबार २१:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।