युवराज खतिवडा अमेरिकाका लागि राजदूत नियुक्त

युवराज खतिवडा अमेरिकाका लागि राजदूत नियुक्त

काठमाडौं : डाक्टर युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा खतिवडालाई मंगलबार अमेरिकाको राजदूतमा नियुक्त गरेकी हुन्।

यसअघि मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्री खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो। नेपाल राष्ट्र बैंकको अधिकृतबाट करिअर सुरू गरेका उनलाई पूर्व एमाले सरकारले राष्ट्र बैंकमा गभर्नर नियुक्त गरेको थियो।

लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट रहेर काम गरेका खतिवडालाई उनले पार्टीका धेरै सिनियर नेताका आकांक्षा पन्छाउँदै अर्थमन्त्री बनाएका थिए।

खतिवडाको राष्ट्रिय सभाको दुई वर्षे कार्यकाल सकिएपछि पनि ओलीले उनलाई अर्थमन्त्रीमा निरन्तरता दिए। 

सांसद नरहेपछि ६ महिना मात्रै मन्त्री बन्न पाउने संवैधानिक प्रावधानअनुसार खतिवडाले भदौ २० गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

पुष ७, २०७७ मंगलबार १६:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।