संसद विघटनको निर्णयविरुद्ध नेकपाका सांसदद्वारा सर्वोच्चमा रिट दायर

संसद विघटनको निर्णयविरुद्ध नेकपाका सांसदद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं : संसद विघटन असंवैधानिक भएको भन्दै नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधिसभाका सदस्यहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
 

सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन्।

नेकपाकै सांसदहरुले दायर गरेको रिट निवेदन दर्ता भएको सर्वोच्चका संजारविज्ञ किशोर पौडेलले जानकारी दिए।
रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्दा आफूहरु ५ वर्षसम्म नागरिकको प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको भन्दै उनीहरुले राष्ट्रपति संसद विघटन गर्ने काम उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरेका छन्।

प्रधानमन्त्रीले गरेको सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारबाही र सो सिफारिसका आधारमा भए गरेका सम्पूर्ण कार्यहरु नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषणको आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने कामहरु सम्पन्न गर्न आवश्यक र उपयुक्त आदेश जारी होस्’ सांसदहरुको रिटमा भनिएको छ।
 

पुष ७, २०७७ मंगलबार १६:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।