पुष्पकमलका तीन साथी ओलीतिर लागे, गौतम र बादल अझै खुलेनन्

पुष्पकमलका तीन साथी ओलीतिर लागे, गौतम र बादल अझै खुलेनन्

काठमाडौँ : सशस्त्र द्धन्द्धदेखि शान्तिपूर्ण राजनीतिसम्म पुष्पकमल दाहाललाई साथ दिँदै आएका तीन साथीले उनको साथ छाडेका छन्।

नेकपामा बढ्दो विवादसँगै पार्टी केपी शर्मा ओली समूह र दाहाल–माधव नेपाल समूहमा विभाजित भएपछि मङ्गलवारबाट उनका तीन सहयात्री ओली समूहमा लागेका हुन्।

भूमिगत राजनीतिका सहयात्री टोपबहादुर रायमाझी, र लेखराज भट्टले मङ्गलवारबाट औपचारिक रूपमै दाहालको साथ छाडेका छन्। मणि थापा पनि मङ्गलवारबाट ओली समूहमा प्रवेश गरेका छन्।

ओली समूहमा गएका नेतामध्ये रायमाझी र भट्ट आफ्नो क्षेत्रमा प्रभाव जमाउन सफल नेता मानिन्छन्। रामबहादुर थापा बादलले के गर्छन् खुलाइसकेका छैनन्।

गृहमन्त्रीसमेत रहेका उनी पछिल्लो समय ओलीतिर निकट देखिएका थिए। तर उनको साथमा रहेका केन्द्रीय सदस्यहरूले दाहाल–नेपाल समूहमा सहभागी हुन दबाब दिएकाले उनले निर्णय गर्न सकेका छैनन्। दाहाल–नेपाल समूहमा रहेका पार्टी उपाध्यक्ष बामदेव गौतम पछिल्लो राजनीतिक घटनाक्रमपछि कतै खुलेका छैनन्।

माधव नेपाल निकट मानिने लालबाबु पण्डित समेत अलमलमा देखिएका छन्। सिन्धुपाल्चोकका सांसद शेरबहादुर तामागं ओलीतिर ढल्किसकेका छन्।

पुष ७, २०७७ मंगलबार १६:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।