पार्टी विभाजित हुँदा ओली समूहले नेकपा नाम र सूर्य चिह्न गुमाउने

पार्टी विभाजित हुँदा ओली समूहले नेकपा नाम र सूर्य चिह्न गुमाउने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदमपछि विकसित घटनाक्रम तेस्रो दिनमा आइपुग्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिकरूपमा विभाजनको मोडमा पुगेको छ।

दुवै समूहले एकले अर्कालाई कारबाही गर्ने तयारीले मंगलबार पार्टी विभाजनले औपचारिकता पाउने देखिन्छ। 

चमत्कारिक फेरबदल नभए पार्टी विभाजन भएको अवस्थामा नेकपा नाम र चुनाव चिह्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँगै रहने देखिन्छ।

सोमबार मध्यरातसम्मको गृहकार्यमा पनि ओली समूहको केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुग्न सकेको छैन। केन्द्रीय समितिमा पनि ४० प्रतिशत पुग्न सकसै देखिन्छ। सोमवार देखिएको समीकरणमा एक सय ४१ जना केन्द्रीय सदस्यमध्ये ओली समूहमा ३० प्रतिशत हाराहारी देखिएका छन्। बामदेव गौतम र रामबहादुर थापा कतै नखुल्दा उनीहरू समर्थक केन्द्रीय सदस्य कता जान्छन् यकिन छैन। तर, थापा समर्थक अधिकांश केन्द्रीय सदस्य दाहालप्रति नरम देखिन्छन्।

अविश्वास प्रस्तावमा भएको हस्ताक्षरका आधारमा संसदीय दलमा समेत ओली समूह कमजोर देखिएको छ। एक सय ७४ मध्ये दाहाल समूहमा ९० जना देखिएका छन्।

गुट बदल्ने क्रम जारी 

जति गुट फेरबदल भए पनि ओली समूहको पक्षमा केन्द्रीय समिति र संसदीय दलमा दल फुटाउन आवश्यक संख्या पुग्न कठिन देखिन्छ।

यो अवस्थामा फिर्ता लिएको दलसम्बन्धी अध्यादेश पुनः जारी गर्नुको विकल्प देखिन्न ओलीसँग। आज बिहानको केन्द्रीय समिति बैठकको उद्देश्य सोही लेखाजोखाका लागि देखिन्छ। 

दाहालको योजना : संसदीय दलको नेता आफै, अध्यक्ष नेपाल

उता पुष्पकमल दाहाल समूहले मंगलबार दिउँसो केन्द्रीय समिति बैठकबाट ओलीलाई अनुशासनको कारबाही गर्ने तयारी गरिसकेका छन्। 

कारबाहीपछि ओलीले नयाँ दल घोषणा गर्ने निष्कर्षसहित दाहाल समूहले नेकपाको अध्यक्ष माधवकुमार नेपाल र संसदीय दलको नेतामा दाहाललाई चयन गर्ने तयारी गरेको छ।

पार्टी फुटे सूर्य चिह्न दाहालसँगै रहने

विगतको दल विभाजन र चुनाव चिह्नको प्रभावको आधारमा जुन समूहले आधिकारिक चिह्न पाउँछ, ऊ नै बलियो हुने गरेको देखिन्छ। तत्कालीन एमाले विभाजन भएर माले बन्दा चुनावमा नयाँ चिह्नमा सूर्य नै हाबी भएको थियो। नेपाली कांग्रेस विभाजित हुँदा शेरबहादुर समूहले पाएको कलशले रुखको ओज घटाउन सकेन।

नेकपा विभाजित हुँदा ओली समूहले पहिल्यै तयारी गरेकाले एमाले नामको पार्टी पुनः सक्रिय गराउन सक्ने देखिन्छ। तर, सूर्य चुनाव चिह्न भने दाहाल समूहसँगै रहन सक्छ।

पुष ७, २०७७ मंगलबार ०९:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।