तीन ठूला दलको केन्द्रीय समिति बैठक आज
काठमाडौं : तीन ठूला दलको केन्द्रीय समिति बैठक आज (मंगलबार) बस्दै छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपालको बैठक बेग्लाबेग्लै समयमा बस्न लागेको हो।
नेकपामा भने दुई पक्षले छुट्टाछुट्टै बैठक बोलाएका छन्। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आफू निकट केन्द्रीय सदस्यहरुको बैठक डाकेका छन्।
यस्तै, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दिउँसो १ बजे आफूपक्षीय केन्द्रीय सदस्यहरुलाई बैठकमा बोलाएका छन्।
ओली पक्षको बैठकले दाहाललाई कारबाही गर्ने र दाहाल नेपाल पक्षको बैठकले ओलीलाई कारबाही गर्ने बताइएको छ।
प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएपछि नेकपाभित्रैबाट विरोध भइरहेको छ। उक्त कदमको दाहाल र नेपाल पक्षका नेताहरुले विरोध जनाएका छन्।
संसद् विघटनको विरोध जनाउँदै आएको कांग्रेसले त्यसबारे पार्टीको आधिकारिक धारणा बनाउन आज दिउँसो १ बजे पार्टी कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक राखेको छ।
यस्तै, जसपाले पनि आज मध्याह्न १२ बजे बस्ने केन्द्रीय कार्यकारिणी बैठक बोलाएको छ। बैठकबाट विरोधका कार्यक्रम घोषणा गरिने पार्टीले जनाएको छ।
पुष ७, २०७७ मंगलबार ०९:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।