संसद् विघटनले निजी क्षेत्र निरास 

संसद् विघटनले निजी क्षेत्र निरास 

काठमाडौं : मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेपछि निजी क्षेत्रमा निरासा छाएको छ। यसले आर्थिक क्रियाकलापमा असर पर्न सक्ने भन्दै उद्योगी–व्यावसायी निरास भएका छन्। 

भूकम्प, नाकाबन्दी, कोरोना संक्रमणको महामारीका कारण आर्थिक संकट भोगिरहेकोमा फेरि उस्तै समस्याको सामना गर्नु पर्ने भन्नेमा उनीहरू चिन्तित छन्। तर, यसलाई सकारात्मकरूपमा लिनु पर्ने कतिपयको मत छ। 

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा प्रतिनिधिसभा विघटन भए पनि मन्त्रिपरिषद् रहेको जनाउँदै यसण्ले आर्थिक समृद्धिका क्रियाकलापलाई निरन्तरता दिन सहयोग गर्नु पर्ने बताउँछिन्। उनले आर्थिक विकास सबैको साझा मुद्दा भएकाले यसमा सबै राजनीतिक दल र सरकारको साथ हुनु पर्ने बताइन्। 

यसैगरी, होटल एसोसिएसन नेपालकी अध्यक्ष सृजना राणा भने पछिल्लो परिस्थितिले निजी क्षेत्र झन् समस्यामा परेको बताउँछिन्। ‘कोरोना भाइरस (कोभिड–१९)ले यसै पनि मारमा पारेको छ,’ उनले भनिन्, ‘पछिल्लो राजनीतिक परिवर्तनले आगोमा घ्यु थपेको छ।’ 

पछिल्लो राजनीतिक विवाद बल्झिरहे देशलाई झन् आर्थिक संकटमा लैजाने भएकाले यसको समाधान खोज्नु पर्ने उनको आग्रह छ। 

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले देशको विकास र आर्थिक समृद्धिका लागि स्थिर सरकार आवश्यक रहेको बताए। ‘स्थिर सरकारले लगानीको वातावरण बनाउन सहयोग गर्छ,’ उनले भने। 

पुष ६, २०७७ सोमबार १८:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।