संसद् विघटित भएको ठान्दैनौँ : माधव नेपाल

संसद् विघटित भएको ठान्दैनौँ : माधव नेपाल

काठमाडौँ : नेकपाका नेता माधवकुमार नेपालले अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिएको भन्दै आफूहरूले संसद् विघटित भएको नठान्ने बताएका छन्।

बदलिँदो राजनीतिक परिस्थितिबारे सञ्चारकर्मीहरूलाई प्रतिकृयादिँदै उनले जुन रूपमा संसद् विघटनको निर्णय भएको छ त्यो असंवैधानिक रहेको दाबी गर्दै उनले भने‘प्रधानमन्त्री र मन्त्रिपरिषद्ले संसद् विघटन गर्ने जुन निर्णय गरेको छ त्यो असंवैधानिक हो। संविधानमा त्यस्तो कुनै पनि प्रावधान छैन।’

उनले प्रतिनिधि सभा विघटन गर्ने अधिकार अहिलेको अवस्थामा रहेका प्रधानमन्त्रीको हातमा नरहेको बताउँदै निश्चित प्रावधानका आधारमा मात्रै प्रतिनिधि सभा विघटन हुनसक्ने बताए।

‘यो अलोकतान्त्रिक छ, निरंकुशताको अवलम्बन गरिएको छ। हामी यसको घोर विरोध गर्दछौं,’ उनले भने‘हामी संसद विघटित भएको ठान्दैनौ।’

नेपाल नेकपामा पुष्पकमल दाहाल समूहमा रहेर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध मोर्चा कस्न सक्रिय छन्। दाहाल र उनले सोमबार विघटित प्रतिनिधि सभा ब्युँताउने विषयमा कानुनविद् लगायतकाहरुसँग छलफल समेत गरेका थिए।

 

पुष ६, २०७७ सोमबार १७:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।