संसद विघटनबारे जनमत : यी नेता कहिल्यै सुध्रिने भएनन्

संसद विघटनबारे जनमत : यी नेता कहिल्यै सुध्रिने भएनन्

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी छन्। संसद् विघटन भएपछि नेकपाकै नेता तथा भातृ संगठनले विरोध जनाए। यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा अन्य पार्टीले पनि संसद् विघटनको विरोध जनाएका छन्। 

 

यसबारे सर्वसाधारणको प्रतिक्रिया के छ ? उकेराले काठमाडौं र ललिलपुरका केही सर्वसाधारणको प्रतिक्रिया लिएको छ। 

सुभाष महर्जन, ललितपुर

आफ्नो निजी स्वार्थका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्नु हुँदैनथ्यो। ऋणमा डुबिरहेको देशमा संसद् विघटन गराएर फेरि चुनाव गराउनु उचित होइन। यही सरकारले पाँच वर्ष सरकार चलाउनु पर्थ्यो।

अम्बिकाप्रसाद चौलागाईं, ललितपुर

यो देशका लागि राम्रो होइन। नेपालमा बहुमतको सरकार नटिकेको अवस्था देखियो। देशलाई स्थिर सरकारको आवश्यक रहेका बेला संसद् विघटन हुनु दुर्भाग्यपूर्ण छ। यो कदमले देशलाई फेरि पछाडि धकेलेको छ। 

महेन्द्र भण्डारी, ललितपुर

संसद् विघटन हुन्छ भन्नेबारे मलाई पहिलेदेखि नै शंका लागेको थियो। किनभने तत्कालीन माओवादी र एमालेको जुन एकता भएको थियो, त्योचाहिँ चुनाव जित्नका लागि थियो। उनीहरूले दुई वटा पार्टी मिल्दाखेरि बहुमत आउँछ भन्ने हिसावले अगाडि बढेका थिए। तर, नेकपाका पछिल्ला गतिविधिले सरकार संसद् विघटनको निर्णयमा पुग्यो। यो देशका लागि राम्रो होइन। 

अमूल्य अधिकारी, ललितपुर

अहिलेको अवस्थामा संसद् विघटन गर्न हुँदैनथ्यो। यसले राम्रो प्रतिफल दिँदैन। निर्वाचनमा जनताले देश विकास गर्न नेकपालाई जनादेश दिएका थिए। सधैं दुई महिने र तीन महिने सरकार चलिरहेको बेला जनताले नेकपालाई लामो समय सरकार चलाउन जनादेश दिएका थिए। तर, नेकपाले जनमतको कदर गर्न सकेन। 

रमेश लामा, ललितपुर

संसद् विघटन हुनुचाहिँ दुर्भाग्यपूर्ण हो जस्तो लाग्छ। जनताले नेकपाकै नेतृत्वमा पाँच वर्ष स्थायी सरकार चलोस् भन्ने अपेक्षा गरेका थिए। तर, आज संसद् भंग गरियो। यसले जनतामा राम्रो सन्देश दिँदैन। सायद आफ्नै पार्टीभित्रको अन्तरद्वन्द्वका कारण प्रधानमन्त्रीले संसद् भंग गर्नु भएको हो की ?

अनिल खनाल, ललितपुर

संसद् विघटन हुनु राम्रो होइन। यो जनभावनाविपरीत रहेको देखिन्छ। संसद् विघटन हुनु जनतामाथि कुठाराघात हो। पार्टीभित्रको आन्तरिक झगडा मिलाउन नसकेर संसद् विघटन गर्नुले ओलीको निरंकुश प्रवृत्ति देखाउँछ। राष्ट्रपतिले यसको रक्षा गर्नुहोला भन्ने मलाई लागेको थियो। तर, भएन। 

राजेश काफ्ले, काठमाडौं 

संसद् विघटन हुँदा राज्यलाई नै हानी हुन्छ। सरकारले यो कदम उठाउनु हुँदैनथ्यो। अर्को कुरा कोरोना महामारीको विषम परिस्थितिमा भएको संसद् विघटनले देशलाई आर्थिकरूपमा पनि पछाडि धकेलेको पो की।

कालीबहादुर सहकाली, काठमाडौं

देश कोरोनाले थिलथिलो भएको र देश अस्तव्यस्त भइरहेको अवस्थामा अर्को चुनाव निम्त्याउने गरि अन्योलता सिर्जना गर्नु देशको लागि घाटा हो। 

जित सिटौला, काठमाडौं

संसद् विघटन केपी ओलीको सरकारलाई चारैतिरबाट काम गर्न रोक्नुको परिणाम हो जस्तो लाग्छ। संसद विघटन गर्नु ओलीको बाध्यता हो। मैले यसलाई स्वभाविकरूपमा लिएको छु। संविधान अनुसार भएको सम्भावित प्रक्रिया हो। 

राजेश अधिकारी, काठमाडौं 

संसद् विघटन रहर नभइ बाध्यता थियो। करिव दुई वर्षदेखिको विभिन्न निकायमा समितिका सभापति नियुक्त गर्न संवैधानिक समितिको बैठक बस्न नदिएर सरकारलाई हात–खुट्टा बाँधेर सरकार चलाउन बाध्य पारिएको थियो। 

कानुन बनाउन खोज्दा पनि फेरि अफ्ठ्यारो बनाउन खोजियो। त्यसकारण तत्काल फेरि राष्ट्रपतिसामु महाअभियोग लगाउने प्रस्ताव दर्ता गराउन खोजिएकाले त्यसको काउन्टरका रूपमा प्रधानमन्त्रीले संसद् विघटन गर्नुपरेको हो की भन्ने मलाई लाग्छ। 

अनिका खड्का, काठमाडौं

अहिलेको परिवेशमा संसद् विघटन हुनु राम्रो होइन। संसद विघटन भएपछि चुनाव हुन्छ। यसले गर्दा हरेक कुरामा ‘हेम्पर’ पर्छ। यी नेता कहिल्यै सुध्रिने भएनन्।

आइसा राई, काठमाडौं 

संसद् भंग गरेर फेरि चुनावमा जानु देशलाई झन् घाटामा लैजानु हो। संसद् विघटन गर्नु जनभावनाविरोधी कदम हो। कोरोना रोकथाम गर्ने बेलामा चुनावमा होमिनु ठिक होइन होला। 

प्रस्तुति : भोला अधिकारी , तस्बिर : कृष्पा श्रेष्ठ
 

पुष ५, २०७७ आइतबार २२:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।