राजनीतिक परामर्शै नगरि राष्ट्रपतिद्वारा संसद विघटन
काठमाडौं : राजनीतिक परामर्शै नगरि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी छन्। मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले संसद् विघटनको सिफारिस गरेपछि राष्ट्रपति भण्डारीले अन्य दलका नेतासँग राजनितिक परामर्श गर्ने अपेक्षा विपरित उनले प्रधानमन्त्रीको सिफारिस कार्यान्वयन गर्दै संसद विघटन गरेकी हुन्।
राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको छ। विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यताबमोजिम भन्दै संसद विघटनको घोषणा गरिएको उल्लेख छ।
संसद् विघटनसँगै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाको निर्वाचनको मितिसमेत तोकेकी छन्। जसअनुसार २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन गरिने छ।
विज्ञप्ति
‘संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकको अभ्यासबमोजिम संघीय संसद्को वर्तमान प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनतासमक्ष जान मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सन्त्रिरकार, मपरिषद्को बैठकबाट निर्णय भई सोहीबमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकाले उक्त सिफारिसबमोजिम संघीय संसद्को वर्तमान प्रतिनिधिसभा विघटन गरी मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ ।’
पुष ५, २०७७ आइतबार १५:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।