‘संसद् विघटनको सिफारिस असंवैधानिक कदम हो’
काठमाडौं : संविधानविद् भीमार्जुन आचार्यले संसद् विघटनको सिफारिस प्रधानमन्त्रीको असंवैधानिक कदम भएको बताएका छन्।
उनले प्रधानमन्त्रीले सनकले यस्तो निर्णय गरेको टिप्पणी गरेका छन्।
‘प्रधानमन्त्रीले संविधानमा नै नभएको व्यवस्थाविपरीत यस्तो कदम चालेका छन्। अहिलेको संविधानले यस्तो अवस्थाको परिकल्पना गरेको छैन। संविधानको धारा ८७ मा नयाँ सरकार बन्न नसकेकोे अवस्थामा बाहेक संसद विघटनको परिकल्पना गरेको छैन। यो असंवैधानिक कदम हो,’ उकेरासँगको कुराकानीमा उनले भने।
उनले यसका दुई वटा समाधान रहेको औंल्याएका छन्। ‘पहिलो, राष्ट्रपतिले विवेक प्रयोग गरेर यसलाई रोक्ने। र, दोस्रो यसलाई स्वीकार गरेर नयाँ निर्वाचन मिति घोषणा गर्ने,’ उनले भने, ‘तर, यससम्बन्धमा अदालतमा बहस भएको अवस्थामा भने अदालतको फैसला अनुसार हुने छ।’
यसअघि २०४७ सालमा संविधानको दुरुपयोग गर्दै संसद विघटन भएको थियो।
त्यतिबेलाको संविधानमा यसबारे व्यवस्था रहे पनि अहिलेको संविधानले यसबारे परिकल्पना नगरेको उनले बताए।
पुष ५, २०७७ आइतबार १४:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।