मन्त्रिपरिषद्द्वारा संसद् विघटन गर्न सिफारिस
काठमाडौं : मन्त्रिपरिषद् बैठकले संसद विघटन गर्न सिफारिस गरेको छ।
आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटन गर्न सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र विवाद बढेपछि र आफूलाई हटाउने तयारी भएपछि आज बिहान आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक बोलाएका थिए।
राजनीतिक विश्लेषक कृष्ण खनालले अहिलेको संविधानमा मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभाको विघटन गर्ने व्यवस्था नभएको बताएका छन्।
‘प्रधानमन्त्रीले विश्वासको मत पाउन नसकेको र अर्को सरकार पनि बन्न नसक्ने अवस्था भएमा मात्र विघटन हुन सक्छ। अहिले त्यो अवस्था पनि होइन,’ उनले भने, ‘मनपरीतन्त्र हुने भयो।’
संविधानको धारा ८५ (१) मा ‘यस संविधानबमोजिम अगावै विघटन भएकामा बाहेक प्रतिनिधि सभाको कार्यकाल पाँच वर्षको हुनेछ’ भन्ने उल्लेख छ।

पुष ५, २०७७ आइतबार १०:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।