मास्क नलगाएको भन्दै चिली राष्ट्रपतिलाई साढे तीन हजार डलर जरिवाना
काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीका कारण लगाइएको प्रतिबन्ध तोडेको भन्दै चिली राष्ट्रपति सेबास्टियन पिन्येरालाई साढे तीन हजार अमेरिकी डलर जरिवाना लगाइएको छ।
उनलाई सार्वजनिक स्थानमा मास्क नलगाइएको भन्दै जरिवाना गराइएको हो।
डिसेम्बरको सुरुवातमा सामाजिक सञ्जालमा एक महिलासँग राष्ट्रपति पिन्येराको सेल्फी भाइरल भएको थियो। काचागुआ सहरको समुद्र किनारमा लिइएको उक्त सेल्फीमा न राष्ट्रपति पिन्येराले मास्क लगाएका थिए न त महिला नै।
तस्बिर भाइरल भएपछि राष्ट्रपतिले आफूले मास्क नलगाएर गल्ती गरेको भन्दै माफी मागेका थिए।
कोरोना संक्रमणको महामारी रोकथाम र नियन्त्रणका लागि चिलीमा कडा प्रतिबन्ध लगाइएको छ। यहाँ सार्वजनिक स्थानमा मास्क लगाउन अनिवार्य गरिएको छ।
चिलीमा मास्क नलगाउनेलाई जरिवानासँगै जेल सजायको पनि प्रावधान छ।
ल्याटिन अमेरिकी देशमध्ये चिलीमा कोरोना संक्रमण सबैभन्दा बढी छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार यहाँ पाँच लाख ८१ हजार एक सय ३५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ अहिलेसम्म कोरोना संक्रमणका कारण १६ हजार ५१ जनाको मृत्यु भइसकेको छ।
बिबिसी
पुष ५, २०७७ आइतबार ०९:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।