नेकपा स्थायी कमिटी बैठक आज बस्दै

नेकपा स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज (आइतबार) बस्दै छ। पार्टीभित्रको विवाद समाधानबारे छलफल गरिने बताइएको छ।

बैठकअघि विवाद समाधानका लागि सहमति जुटाउने प्रयास गरिए पनि सहमति हुन सकेको छैन। पार्टीभित्रको विवाद समाधानका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली हिजो दिनभर भेटघाटमा व्यस्त थिए। उनले हिजो पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष वामदेव गौतम, स्थायी कमिटी सदस्य रामबहादुर थापासँग भेटघाट गरेका थिए। 

गत कात्तिक २८ को पार्टी सचिवालय बैठकमा प्रचण्डले ओलीमाथि आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेश गरेका थिए। त्यसको दुई सातापछि बसेको सचिवालय बैठकमा ओलीले प्रचण्डका आरोपको जवाफसहितको प्रतिवेदन पेश गरेका थिए। 

अध्यक्षद्वयले एकअर्कालाई आरोपसहितको प्रतिवेदन पेश गरेपछि नेकपाभित्रको विवाद चर्केको हो। पछिल्लो पटक सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि विवाद उत्कर्षमा पुगेको छ। 

पुष ५, २०७७ आइतबार ०७:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।