संसद अधिवेशनबारे कांग्रेस सभापति र जसपाका शीर्ष नेताहरूबीच छलफल
काठमाडौं : संसदको नियमित अधिवेशनबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताहरूबीच आज छलफल भएको छ।
सरकारले संसद्को नियमित अधिवेशन बोलाउने पहल नगरेपछि कांग्रेस सभापति देउवा र जसपाका अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई तथा नेता राजेन्द्र महतोबीच देउवा निवासमा झण्डै १ घण्टा छलफल भएको हो।
छलफलमा संसद्को नियमित अधिवेशन बोलाउन सरकारसँग माग गर्नेलगायत विषयमा छलफल भएको कांग्रेस सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिए।
सरकारले संसद्को हिउँदे अधिवेशनको मिति नतोकेपछि कांग्रेस र जसपाले छलफल गरेका हुन्।
संसद्को हिउँदे अधिवेशन पुस १७ गतेभित्र सुरु भइसक्नु पर्ने छ। संसद्को एउटा अधिवेशन समाप्त भएको ६ महिनाभित्रै अर्काे अर्को अधिवेशन सुरु हुनु पर्ने संवैधानिक प्रावधान छ।
संसद्को बजेट अधिवेशन असार १८ मा सकिएको थियो।
पुष ४, २०७७ शनिबार १८:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।