संसद्को विशेष अधिवेशनबारे छलफल गर्दै कांग्रेस र जसपा

संसद्को विशेष अधिवेशनबारे छलफल गर्दै कांग्रेस र जसपा

काठमाडौं : सरकारले संसद्को नियमित बैठक बोलाउने पहल नगरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विशेष महाधिवेशन बोलाउन अर्को प्रतिपक्ष दल जनता समाजवादी पार्टी (जसपा)सँग छलफल गर्ने भएको छ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवासमा बैठक राख्ने तयारी भएको उनका सहयोगी भानु देउवाले जानकारी दिए।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको किचलोले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहका ८३ सांसदले विशेष महाधिवेशनको पहल गरे पनि प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबाट ब्याक भएपछि सो प्रयास बीचैमा तुहिएको थियो।

विशेष महाधिवेशनको माग गर्न नेकपा ब्याक भए पनि प्रमुख प्रतिपक्षको रूपमा कांग्रेस मौन बसेको भन्दै आलोचना भएपछि देउवाले ट्विट गर्दै विशेष अधिवेशनको पहल गरे पनि कांग्रेससँग २५ प्रतिशत सांसद संख्या नभएकाले अन्य दलसँग छलफल गरे पनि निष्कर्ष ननिस्किएकाले नियमित अधिवेशनको माग गरेका थिए। जसपाले साथ दिएमा २५ प्रतिशत पुग्छ।

तर, नेकपामा बढ्दै गएको ध्रुवीकरणले प्रधानमन्त्री ओली तत्काल अधिवेशन बोलाउने मुडमा देखिएका छैनन्। परिआए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जस्तै गरेर राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने मुडमा रहेका ओलीका लागि संसद् सुरु भए अवरोध हुने नै छ।

नेकपाको प्रचण्ड समूह परिआए अविश्वासको प्रस्तावसमेत लैजाने तयारीमा रहेको र विशेष अधिवेशन माग गर्न हस्ताक्षर गर्ने सांसदको संख्या बहुमत रहेकाले उनी पार्टीको किचलो मिलाएर मात्र अधिवेशन बोलाउने रणनीतिमा रहेको देखिन्छ।

पुष ४, २०७७ शनिबार १६:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।