बिक्री भएनन् अस्ट्रिच
भैरहवा : कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीका कारण अस्ट्रिच बिक्री नहुँदा किसान मारमा परेका छन्।
रूपन्देहीको तिलोत्तमामा अर्बभन्दा बढी रूपैयाँ लगानी गरि ‘अस्ट्रिच नेपाल प्रालि’ फर्म चलाएका सिपी शर्मा कोरोना संक्रमणका कारण अस्ट्रिचको मासु खपत नभएको बताउँछन्।
‘लागत अत्यधिक भइसक्यो, खर्च धान्नै समस्या भएको छ। कोरोनाले गर्दा मासु खपत कम भएको छ। यसको प्रत्यक्ष मारमा हामी पनि पर्यौ,’ प्रालि अध्यक्ष शर्माले भने।
खासगरी अस्ट्रिचको मासु नेपालीसहित चिनियाँ, युरोपियन र भारतीयहरूले बढी रुचाउँछन्। कोरोना महामारीले पर्यटक आगमन शून्य भएपछि मासुको बिक्री ह्वात्तै घटेको हो।
गत चैतअघि मासिक १२० टनसम्म बजारमा खपत हुने अस्ट्रिचको मासु पाँच महिनासम्म बिक्री नभएको र अहिले मासिक ५ टनको हाराहारीमा मात्रै बिक्री भएको छ।
अस्ट्रिच बिक्री नहुँदा चल्ला उत्पादन र दाङको बिजौरीमा रहेको फार्म बन्द गरिएको शर्माले बताए। तिलोत्तमाको फार्ममा मासुका लागि तयार पाँच हजारमध्ये तीन हजार अस्ट्रिच दुई वर्षका भएका छन्। ‘बिक्री नहुँदा आवश्यकताभन्दा ८÷९ महिना बढी पाल्नु परेको छ। यसले करोडौं घाटा भएको छ,’ शर्माले भने।
अस्ट्रिचको आयु ८० वर्षसम्म हुने भए पनि मासु खानका लागि १२ देखि १४ महिनामै उपयुक्त हुन्छ। उक्त अवधिमा एउटा अस्ट्रिच १५० किलोसम्म हुन्छ।
यही समयमा मासु बिक्री गर्न सके मात्रै मुनाफा हुने र त्योभन्दा बढी समय पाल्नुपरेको अवस्थामा लागत बढ्ने तथा मासु खासै नबढ्ने अस्ट्रिचपालक बताउँछन्।
एउटा अस्ट्रिच मासुका लागि योग्य बनाउन दैनिक १८० रूपैयाँ खर्च लाग्छ। लागत महँगो भएकाले पनि यसको मासु अन्यको भन्दा महँगो पर्छ।
‘अस्ट्रिच विदेशबाट ल्याएर पाल्न सुरु गरिएको चरा हो। यो ठूलो हुन्छ। पाल्न खर्च बढी छ। तर, यसको मासु खाँदा हुने फाइदा, बजारीकरण, नयाँ जातको अनुसन्धान सरकारी तबरबाट हुन सकेको छैन,’ शर्माले भने, ‘सरकारले कुखुरा, बाख्राजस्तै प्रवद्र्धनात्मक कार्यक्रम नगर्दा किसानले समस्या झेल्नुपरेको छ।’
कोरोनाका कारण अघिल्लो आर्थिक वर्षको चैतदेखि असारसम्म मात्रै अस्ट्रिच नेपाल प्रालिले ६ करोड रूपैयाँ घाटा भएको जनाएको छ।
रूपन्देहीबाट थालिएको अस्ट्रिचपालन विस्तार हुँदै जाँदा व्यावसायिक रूपमा पाल्ने किसानहरू १३ जना पुगेका छन्। सोखका लागि एक/दुई वटा अस्ट्रिच पाल्नेहरू सयभन्दा बढी छन्।
मासुको उत्पादन राम्रो र स्वास्थ्यका हिसाबले पनि निकै लाभदायक मानिने भएकाले अस्ट्रिच पालनमा धेरैको रुचि छ। तर, नयाँ जातबारे सरकारले अनुसन्धान र अन्य मासुजन्य पशुपंक्षीजस्तै अस्ट्रिच प्रवर्द्धनका काम नगर्दा क्षेत्र विस्तार र बजारमा सहज उपलब्ध हुन सकेको छैन।
खासगरी थोरै क्यालोरी, क्लोस्टोरको मात्रा निकै कम हुनु, बोसो नहुने, भिटामिन प्रशस्त पाइने भएकाले पनि अस्ट्रिचको मासु अन्य मासुजन्य पदार्थभन्दा निकै स्वास्थ्यवर्द्धक मानिने भेटेरिनरी अस्पताल तथा पशुसेवा केन्द्र, भैरहवाका प्रमुख डा. परवेज आलमले बताए।
उनले भने, ‘ब्लडप्रेसर र मुटुका बिरामीहरूलाई पनि अस्ट्रिचको मासु निकै लाभदायक हुन्छ।’
रातो भए पनि मासु सेवनले शरीरलाई निकै फाइदा गर्ने चिकित्सकहरू बताउँछन्।
अस्ट्रिचको मासु तयार गरि १८ डिग्री सेन्टिग्रेडको तापक्रममा राखेर ६ महिनासम्म प्रयोग गर्न सकिन्छ।
पुष ४, २०७७ शनिबार १५:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।