बालुवाटारबाहिर निस्किएका ओली भेटघाटको ‘म्याराथुन’मा

बालुवाटारबाहिर निस्किएका ओली भेटघाटको ‘म्याराथुन’मा
तस्बिरहरू : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको फेसबुकबाट। 

काठमाडौं : प्रायः हरेक बैठक आफ्नै सरकारी निवास बालुवाटारमा गर्दै आएका प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली शनिबार भेटघाटका लागि बालुवाटारबाट निस्किए।

पार्टीमा बढ्दो किचलोसँगै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएसँगै बढेको जटिलता साम्य बनाउन ओली सरकारी निवासबाट बाहिरिएर छलफलमा जुटेका हुन्।

उनी बिहान नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारमा रहेको डेरामा पुगेका थिए। उनी दाहालको डेरामा करिव डेढ घण्टा बसेर पुल्चोकमा बस्दै आएका गृहमन्त्री रामबहादुर थापा बादलको सरकारी क्वाटरमा पुगे।

खुमलटारमा भएको छलफलमा नेकपा उपाध्यक्ष बामदेव गौतमसमेत मिसिएका थिए। तीनैजनाबीच भएको छलफल अध्यादेश फिर्ता र सचिवालय हुँदै स्थायी समितिमा पुगेको राजनीतिक प्रस्तावमाथि केन्द्रित थियो। 

प्रचण्ड निकट स्रोतका अनुसार उनले अध्यादेश फिर्ता लिने सहमति गरेर पनि प्रक्रिया अगाडि नबढाएकोमा असन्तुष्टि जनाउँदै केही कुरामा पनि ओलीलाई विश्वास गर्न सक्ने अवस्था नभएको बताएका थिए।

‘अप्ठ्यारो परेपछि सहमति गर्ने अनि गाँठो फुकेपछि वास्तै नगर्ने व्यवहार छ, कसरी पत्याउने ?’ बैठकमा दाहालले ओलीलाई भनेको भनाई उधृत गर्दै स्रोतले भन्यो।

प्रतिउत्तरमा ओलीले अध्यादेश फिर्ता गर्न आफू तयार रहेको तर प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन फिर्ता लिनुपर्ने बताएका थिए। प्रचण्ड प्रतिवेदन फिर्ता लिन तयार नभएपछि बैठकमा गौतमको प्रवेश भएको थियो। गौतमलाई साक्षी राखेर ओलीले आफू सहमतिको आधारमा अगाडि बढ्न तयार रहेको तर त्यसको वातावरण बनाउन प्रचण्डले प्रतिवेदन फिर्ता लिनु पर्ने बताएका थिए। 

तर, प्रचण्डले प्रतिवेदन स्थायी समितिमा पुगेकाले छलफल गरेर त्यहीबाट टुंगिने जवाफ दिएपछि ओली बैठकबाट बाहिरिए।

उनी खुमलटारबाट निस्किएर गृहमन्त्री तथा पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’लाई भेट्न गए।

ओली खुमलटारबाट निस्किएपछि नेकपाका नेता माधव नेपाल प्रचण्डको डेरामा पुगे। 

फुक्ला गाँठो ?

सहमतिको आधारमा सरकार र पार्टीको काम गर्ने सहमति तोड्दै ओली एकलौटी अगाडि बढेपछि बढेको किचलो समाधानतिरभन्दा थप जटिल बन्दै गएको देखिन्छ।

सहमतिका लागि भन्दै बैठक चलिरहेका छन्। दुवै पक्ष गुटगत भेलामा समेत सक्रिय छन्। प्रचण्डले सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेपछि बिच्किएका ओलीले पनि प्रतिवेदन पेश गरे। दुवैको प्रतिवेदन स्थायी समितिमा पुगेको छ।

प्रचण्डको प्रतिवेदन फिर्ता नभएसम्म आफू बैठकमा नआउने घर्की लगाए पनि ओली बैठकमा सहभागी हुँदै आएका छन्। यही किचलोबीच ओलीले संवैधानिक परिषद् बैठकबाट संवैधानिक निकायका रिक्त पदमा सिफारिसका लागि बैठक राख्दा पूर्वमाओवादीबाट सभामुख भएका अग्नि सापकोटा बैठकमा सहभागी नभएपछि बिच्किएका प्रधानमन्त्री ओलीले अध्यादेश जारी गरे।

अध्यादेश ल्याएको झोकमा प्रचण्डले संसदको विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गराउन खोजेपछि ओली ब्याक हुँदै अध्यादेश फिर्ता गर्न वचन त दिए। तर, फिर्ता गराएका छैनन्। 

अध्यादेश फिर्ता नहुँदा रिसाएका दाहाल फकाउन ओली आफै प्रचण्डको डेरामा पुगेर छलफल गरे पनि नतिजा गाँठो फुक्ने गरि आएको देखिएन।

पुष ४, २०७७ शनिबार १४:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।