रेशम चौधरीको माग अस्वीकार, जन्मकैदको फैसला सदर

रेशम चौधरीको माग अस्वीकार, जन्मकैदको फैसला सदर

काठमाडौं : कैलालीको टीकापुर नरसंहारका मुख्य योजनाकार भनिएका रेशम चौधरीको मागलाई उच्च अदालतले अस्वीकार गरिदिएको छ। 

उच्च अदालत दिपायलले बिहीबार चौधरीलाई जिल्ला अदालत कैलालीको फैसला सदर गर्दै जन्मकैदको फैसला सुनाएको छ।

उच्च अदालतका न्यायाधीद्वय सीताराम मण्डलर र टेकनारायण कुँवरको संयुक्त इजलासले बिहीबार दुबै पक्षको बहस सुनिसकेपछि रेशमको माग अनुसार उनलाई सफाइ दिन अस्वीकार गरेको उच्च अदालत दिपायलकी निमित्त रजिस्ट्रार सीता रेग्मीले जानकारी दिइन्।
उच्च अदालतले रेशम चौधरीसहित हरि नारायण चौधरी, प्रदीप चौधरी, विर बहादुर चौधरी, राजेश चौधरी, सिताराम चौधरी, गंगाराम चौधरी समेत ७ जनालाई जिल्ला अदालतको फैसला बमोजिम नै जन्म कैद हुने ठहर गरेको छ। टीकापुरमा ‘थरुहट आन्दोलन’ का क्रममा २०७२ भदौ ७ गते एक बालक र सात प्रहरीको ज्यान जाने गरी भएको हिंसात्मक घटनाका मुख्य योजनाकार भनिएका सांसद चौधरीलाई जिल्ला अदालत कैलालीले २०७५ फागुन २२ गते जन्मकैदको फैसला सुनाएको थियो।

मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जिल्ला अदालतले उनलाई जन्मकैद ठहर गरेको थियो। जिल्ला अदालतको फैसला त्रुटीपूर्ण रहेको र आफु निर्देष रहेको दाबी गर्दै चौधरीले २०७६ बैशाख २९ गते उच्च अदालत दिपायलमा पुनरावेदन निवेदन पेश गरेका थिए।
चौधरीलाई थुनामा रहेकै समयमा २०७५ पुस १९ गते सांसदको शपथ ग्रहण गराइएको थियो। उनी डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका छन्।

पुष २, २०७७ बिहीबार २२:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।