हट्यो जोर-बिजोर प्रणाली

हट्यो जोर-बिजोर प्रणाली

काठमाडौं : काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर-बिजोर प्रणाली भोलि शुक्रबारदेखि  हट्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहिबार बिज्ञप्ति जारी गरि शुक्रबार बिहान देखि जोर-बिजोर प्रणाली हटाइएको जनाएको छ। सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिहरुले गरेको आग्रह अनुसार जोर-बिजोर प्रणाली हटाउने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ। सार्वजनिक सवारीमा जोर-बिजोर कायम गर्दा झनै भीड बढेको निष्कर्ष निकाल्दै तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक र निजी सवारी चल्न दिने निर्णय भएको प्रशासनले जनाएको छ।
कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो छ। विगतमा भीडभाड कम गर्न जोर-बिजोर प्रणाली लगाए पनि अहिले अरु कुनै खालका प्रतिबन्धहरु नभएकाले अब जोर-बिजोर मात्रै लगाएर राख्दा सार्वजनिक सवारीमा जोखिम बढ्ने यातायात व्यवसायीको भनाइ छ। मन्त्रिपरिषद्को निर्णय अनुसार काठमाडौं जिल्ला प्रशासनले असोज १ गते देखि जोर-बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको थियो।

पुष २, २०७७ बिहीबार १८:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।