‘काठमाडौंका सम्पदा र पोखराको प्रकृतिलाई पर्यटनसँग जोडौं’
पोखरा : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रको माध्ययमबाट अर्थतन्त्रलाई समृद्ध बनाउन सकिने बताएका छन।
काठमाडौं महानगरपालिका र रामग्राम नगरपालिकाबीच अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापना गर्ने कार्यक्रममा सहभागी भई अध्ययन भ्रमणकै क्रममा पोखरा पुगेका शाक्यसहितको टोलीलाई स्वागतका लागि पोखरा महानगरपालिकाले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
सम्वोधनका क्रममा शाक्यले पर्यटनका माध्ययमबाट मुलुकको अर्थतन्त्रलाई उन्नत बनाउन समन्वय र अनुभव आदान–प्रदान आवश्यक रहेको बताए।
‘मानव निर्मित सम्पदाले धनी काठमाडौं सांस्कृतिक सहर हो। काठमाडौं महानगरलाई मुर्त–अमुर्त सम्पदाले सुन्दर बनाएको छ,’ शाक्यले भने ‘पोखरा प्रकृतिको सुन्दरताले धनी छ।
यी दुई महानरबीच प्रकृति र सम्पदाको प्रवर्धन र व्यवस्थापन गर्न सक्ने हो भने कोरोनाका कारण शिथिल बनेको पर्यटनलाई चलायमान बनाउँदै पर्यटनकै माध्ययमबाट मुलुकको अर्थतन्त्रलाई उँचो बनाउन सकिन्छ।’
कार्यक्रमलाई सम्वोधन गर्दै पोखरा महानगरका मेयर मानबहादुर जिसीले काठमाडौं महानगरपालिका संघीय राजधानीको महानगरपालिका भएकाले धेरै कुरा त्यहिबाट सिक्नु पर्ने भएकाले अभिभावकीय भूमिका हुनुपर्नेमा जोड दिए।
अहिले स्थानीय तहको भूमिकालाई कमजोर बनाउने प्रयास भएको भन्दै संघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुनुपर्नेमा पनि उनले जोड दिए।
‘‘स्थानीय तहको भूमिकालाई बलियो बनाउन काठमाडौं महानगरपालिकाले नेतृत्व लिनुपर्छ,’ जिसीले भभने ‘दुरीको हिसावले काठमाडौं र पोखरा टाढा छैनन्।
त्यसैले सांस्कृतिक सहर काठमाडौ र प्रकृतिले सुन्दर पोखराले एक अर्काबाट धेरै कुरा आदन–प्रदान गर्न सक्छौं।
काठमाडौ महानगरपालिकाकी उप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पनि सहयोग आदन–प्रदानमा जोड दिइन्।
मंसिर १५, २०७७ सोमबार १९:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।